काठमाडौं— कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका लागि नेपाल सरकारलाई अमेरिकी सरकारले अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले तीन हजार मास्क, २ हजार ५ सय मास्क, दुई हजार जुत्ता ढाक्ने खोल, २ हजार १ सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिक र १० वटा थर्मो फ्ल्यास थर्मोमिटटर सहयोग गरेको हो।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सचिव यादव कोइरालालाई यूयसएआइडीकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले ती सामग्री हस्तान्तरण गरेकी हुन्।
यी सामग्री तोकिएका अस्पतालमा कोभिड १९ को आंशका गरी उपचार गरिरहेका स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन्।
यसअघि, ६ फागुनमा अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका ७ थान, लेटेक्स पन्जा चार सय थान र जैविक जोखिमका वस्तु बोक्ने झोला १ सय १० थान हस्तान्तरण गरेको थियो।