डा सुवास प्याकुरेल
सम्माननीय प्रधानमन्त्रीज्यू,
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालको शय्यामा आराम गरिरहनुभएका यहाँलाई सर्वप्रथम शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आफैंमा आत्मविश्वासका धनी तपाईंले यति उच्चस्तरको उपचारका लागि नेपाली चिकित्सा जगतप्रति देखाउनुभएको विश्वासले नेपालको समग्र स्वास्थ्य क्षेत्र र आमनेपाली सबैको आत्मविश्वास ह्वात्तै बढाएको छ।
मिर्गौला प्रत्यारोपणका लागि तपाईंले सार्वजनिक अस्पताल, त्यो पनि नेपालको पहिलो मेडिकल कलेजको शिक्षण अस्पताल रोज्नुले पनि थप सकारात्मक सन्देश छोडेको छ। यसबाट नेपाली स्वास्थ्य प्रणालीमा हाइलाइटर दलिएको अनुभूति भएको छ। निश्चय नै यसले देशको स्वास्थ्य विकासमा महत्व राख्ने नै छ।
आफ्नो उपचार भएको अवस्थामा वा भनौं स्वास्थ्यको संवेदनशीलता र महत्व महसुस भएको अवस्थामा तपाईं मुलुकको कार्यकारी प्रमुख हुनुभएको नाताले यही मनोबल र महत्व कसरी तीन करोड नेपालीको विषयमा जोडेर लानु हुनेछ भन्ने विषय बुँदागत रुपमा यसै शुभेच्छा पत्रमार्फत सेयर गर्ने अनुमति चाहन्छु।
प्रष्ट छ, प्रधानमन्त्रीको हैसियतमा आफ्नै शरीरको मुटु, मिर्गौला, फोक्सो, आँखा र अन्य अंगमात्र नभई नैतिक रुपमा तीन करोड नेपालीका तीन करोड मुटु, ६ करोड फोक्सो, ६ करोड मिर्गौला, ६ करोड आँखा लगायत तीन करोड शरीरकै जिम्मेवारी यहाँकै काँधमा छ।
यतिखेर तत्काल कदम चाल्नुपर्ने कोरोना भाइरस संक्रमणको रोकथाम र परिआउँदा तत्सम्बन्धमा चालिनुपर्ने कदमका बारेमा नेपालको तयारीको डोज पुगे/नपुगेको बहस चलिराखेको छ। यसै सन्दर्भमा तपाईंले यतिखेर महसुस गर्नु भएको स्वास्थ्य नै सर्वोपरी हो भन्ने भाव जोडेर हेर्नुहुनेछ भन्ने आशा सबै नेपालीले गरेका छन्। आरामका बेलामा पनि ग्रहण गर्न सकिने भएकाले निम्न तीन बुँदाहरु प्रमज्यू समक्ष राख्ने जमर्को गरेको छु।
१. स्वास्थ्य सेवामा सेवापक्ष ओझेलमा परेका सन्दर्भमा
प्रमज्यू, नेपालको संविधानमा जनस्वास्थ्यका लागि छुट्टै धारा नै खोलियो। स्वास्थ्य डोमेनलाई बहुआयामिक विधा मनेर होस्टिक मोडेलको कानुन पनि बनाइयो। पहिलेपहिलेको भन्दा उदार र फराकिलो स्वास्थ्य नीति पनि आयो। स्वास्थ्य क्षेत्रले तीन तहको सरकारको बुई चढेर घर-आँगनसम्म छिर्ने मौका पनि पायो।
चिकित्सा शिक्षा आयोगको गठनसँगै नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजप्रतिको फोकसको बिर्को उघारेर आफूलाई जनस्वास्थ्य संरक्षण र चिकित्सकीय गुणस्तरमा खटिने वातावरण पनि बन्यो। डाक्टर, नर्स, पारामेडिक्स, अस्पताल र मेडिकल कलेजको संख्या पनि बढेर गयो।
तर प्रमज्यू, सेवाग्राहीका रुपमा आम नागरिकका लागि माथि उल्लेखित सबै विकासक्रम फगत ‘ब्याक इन्ड’ मात्र हुन्। सेवाग्राहीले अनुभूति गर्ने ‘फ्रन्ट इन्ड’ भनेको आपत पर्दा पाइने जानकारी र सहयोग, बोलाउनासाथ आइपुग्ने सुविधायुक्त एम्बुलेन्स (हेर्दै ट्यांका जस्ता लाग्ने एम्बुलेन्स हैन है प्रमज्यू), अस्पतालमा टिकट काट्नकै लागि तीन घन्टा लाइन लाग्नुपर्ने अवस्था, परिआउँदा चित्त नबुझेको कुरा राख्न सक्ने अवस्था, परिआउँदा चित्त नबुझेको कुरा राख्न सक्ने व्यवस्था, अस्पताल र स्वास्थ्यकर्मीको राम्रो बोलीवचन, विश्वसनीय रिपोर्ट, रेफरलको सपोर्ट, शुल्क सम्बन्धी पूर्वजानकारी नियमन र नियन्त्रणको दायरामा रहने उपचार शुल्क र बिमामार्फत त्यसको उचित सम्बोधन जस्ता पक्षहरु हुन्। सेवापक्षको कुरालाई सांकेतिक रुपमा बोल्नुपर्दा यस्तो लाग्छ, मानौं राम्रोसँग पाकेको कुरालाई पनि पस्किने बेलामा ध्यान नपुर्याएझैं लाग्छ।
२. डाटाकेन्द्रित हुनुपर्ने स्वास्थ्य क्षेत्र दाताकेन्द्रित भएको सन्दर्भमा
प्रमज्यू, चिकित्सा क्षेत्रको विशिष्ट विशेषता भनेकै तथ्य र तथ्यांकमा टेकेर बोल्नु र नीति कोर्ने कलमको बिर्को खोल्नु हो।
नेपालको सन्दर्भमा बिरामीका रेकर्डहरु बाक्ला फाइल र ढड्डाका रुपमा बेकारको ठाउँ ओगटेर बसेका छन्। उता डाक्टरले खोज्दा एक्स-रे हेर्न पाउँदैनन्, यता भने एक्स-रे प्लेट घरघरमा धुलो उडाउने र ग्रहण हेर्ने जस्ता काममा दुरुपयोग भइरहेका हुन्छन्।
छिट्टै नै प्रमज्यूले डिजिटल नेपालको नारा सफल पार्नमा सहायक हुनेगरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड र नेसनल हेल्थ ग्रिड सहितको एकीकृत हेल्थ सिस्टम, स्मार्ट हेल्थ कार्ड र त्यसैसँग बिमाको समन्वय गर्न सक्दामात्र स्वास्थ्य सेवा थप व्यवस्थित, वैज्ञानिक, सरलीकृत र अनुसन्धानपरक बन्नेछ। यसबाट हाई भोल्युमको डोनर एजेन्सीहरुको बोली लो भोल्युममा झर्ने निश्चित हुन्छ। फलस्वरुप प्रकारान्तरमा नेपालको स्वास्थ्य क्षेत्र दाताकेन्द्रित नबनी डाटाकेन्द्रित बन्न पुग्छ। प्रमज्यू, जुन क्षेत्रमा पनि प्राविधिकसम्मत चल्दै जाँदा स्वतः विधिसम्मत बन्दै जान्छ नै।
३. स्वास्थ्य बिमामा समस्याले सीमा नाघेको सन्दर्भमा
सर्वव्यापी स्वास्थ्य पहुँच (युनिभर्सल हेल्थ कभरेज) को ग्लोबल नारा र संविधानको ३५ नम्बर धारा दुवैलाई साझा सम्बोधन गर्नसक्ने इन्जिनका रुपमा स्वास्थ्य बिमा आफैंमा उत्कृष्ट अभ्यास हो सैद्धान्तिक रुपले। स्वास्थ्य बिमाका अपरिहार्य पिलरहरु नठड्याई सुरु गरिएकाले विद्यमान बिमा कार्यक्रम आफैंमा फितलो छ र यसले आशातित आउटपुट दिन सकिरहेको छैन। आठ लाखभन्दा बढी बिमा दावी क्लियर हुन नसकेको तथ्यांक बाहिरिँदा यसको भविष्यलाई लिएर चिन्ता बढ्दै गएको छ।
जनताबाट पैसा उठाएर सेवाप्रदायक अस्पतालहरुलाई उधारोमा काम लगाएर उनीहरुको पैसा अड्काइँदैछ। यसबाट पब्लिक अस्पतालहरु सुक्दै जाने र पहुँच पुर्याउने निजी अस्पतालहरु फुक्दै जाने सम्भावना रहन्छ।
प्रमज्यू, स्वास्थ्य बिमाका विषयमा काँक्रो काट्दाको झैं तपाईंलाई रिपोर्टिङ हुँदा तितो-तितो फालेर मिठो-मिठो मात्रै सुनाइएको हुन सक्छ। कृपया क्रस चेक गर्नुहोला।
प्रमज्यू, रिकभरी फेजमा भएका बेला तपाईंको दिमागमा समस्याको भारी बोकाउन खोजेको भने होइन। यस पत्रको आसय अस्पतालको बेडमा रहँदा अस्पताल, उपचार र जनताको स्वास्थ्यको विषयमा तपाईंको ध्यान तानोस् भन्ने मात्र हो।
तेस्रो पक्षले बिल भुक्तानी गर्ने सवारी दुर्घटनाको उपचार विषय, पर्यटकको स्वास्थ्यको विषय, बाहिर जानेहरुका लागि गरिने स्वास्थ्य परीक्षणको विषय र त्यसभित्र रहेको झेली खेलले कसरी स्वास्थ्य क्षेत्रलाई दूषित गरेको छ भन्ने त पछि भनौंला।
यहाँलाई पुन एक पटक शीघ्र स्वास्थ्यलाभको कामना। अहिलेलाई बिट मार्ने अनुमति चाहन्छु।