काठमाडौं - प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउँदै जाँदा विभिन्न दलका पूर्व स्वास्थ्य मन्त्रीहरूको चुनावी अवस्था पनि स्पष्ट हुँदै गएको छ। कतिपय पराजित भएका छन् भने कतिपयको प्रतिष्पर्धामा छन् तर जित्ने सम्भावना कम हुँदै गएको छ।
काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भएका छन्। सोही क्षेत्रमा नेपाली काँग्रेसका पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल भने ९ हजार १५९ मत ल्याउँदै पराजित भएका छन्।
पर्सा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धि प्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भएका छन्। यस क्षेत्रमा नेकपा (एमाले) का पूर्व स्वास्थ्य मन्त्री प्रदीप यादव १३ हजार ३० मतसहित पराजित भएका छन्।
सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह १४ हजार ४३४ मतसहित अघि देखिएका छन्। सोही क्षेत्रमा नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा ८ हजार ४६२ मतसहित पछि परेका छन्।
पर्वत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल २६ हजार ५६१ मतसहित निर्वाचित भएका छन्। नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का पूर्व स्वास्थ्य मन्त्री पदम गिरी १५ हजार ७५ मतसहित पराजित भएका छन्।
महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन्। यस क्षेत्रमा नेकपाका पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल १२ हजार ६२४ मत ल्याउँदै पराजित भएका छन्।
कैलाली–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोईराला ९ हजार ६४ मतसहित अग्रता लिइरहेका छन्। सो क्षेत्रमा नेपाली काँग्रेसका गोरख बहादुर विष्ट ३ हजार ४०१ मत र नेकपा (एमाले) का पूर्व स्वास्थ्य मन्त्री लेखराज भट्ट २ हजार ७८८ मतसहित पछि परेका छन्।
यस्तै, सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी ८ हजार ७७५ मतसहित अघि छन् भने जनता समाजवादी पार्टीका पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव ६ हजार ६०५ मतसहित पछाडि रहेका छन्।