डडेल्धुरा- दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ६ मा जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्दार गरिएको छ।
गम्भीर घाइते दार्चुलाको दुहु गाउँपालिकाका–४ का ४१ वर्षीय प्रेमबल्लभ जोशी र ३८ वर्षीय हरकसिंह बडाललाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।
दुर्घटनामा गम्भीर घाइते भई डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई नेपानी सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। उनका अनुसार दिउँसो १ बजेतिर सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरले जोशी र बडालको उद्धार गरेको हो।
सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले पहलमा उनीको उद्दार गरिएको जनाइएको छ। आइतबार बिहान बैतडीको पाटन जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय जिप चालक धनसिंह बडालको मृत्यु भएको हो। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेस्ट (१२५७) जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ मा दुर्घटनामा परेको थियो जिप सडकबाट २५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।