काठमाडौं – कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको छ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले उनलाई पाटन अस्पताल पठाएको हो। उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
पाटन अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि सात वटा आइसोलेन वार्ड छुट्याएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल कुनै पनि बिरामी आइसोलेसन वार्डमा भर्ना गरिएको छैन। कोरोनाको आंशकामा अहिलेसम्म ३३ जना बिरामी भर्ना भएर उपचार गरिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।
नेपालमा हालसम्म एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती व्यक्ति पनि उपचारपछि कोरोनामुक्त भइसकेका छन्।
कोरोनाको आशंकामा हालसम्म ४ सय ४१ जनाको नमूना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।