काठमाडौं – सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भएका पूर्वतयारी पर्याप्त नभएको भन्दै सरकारको आलोचना गरेको छ।
कोरोना भाइरसको संक्रमण विश्वमा तीव्र गतिमा फैलिएपनि सरकारले पर्याप्त रुपमा पूर्वतयारी नगरेको भन्दै नेपालले विज्ञप्ति मार्फत् आलोचना गरेको हो।
शंकास्पद बिरामीको परीक्षण र उपचार व्यवस्थापनको तयारी अत्यन्तै कमजोर भएको चिकित्सक नेपालले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘देशमा संक्रमण देखिएमा वा शंकास्पद बिरामीहरुको परीक्षण र बिरामीहरुलाई अवलोकनको लागि भर्ना गर्नुपरेमा त्यसको उपचार व्यवस्थापनको तयारी अत्यन्तै न्यून र कमजोर छ।’
संघीय तथा प्रदेशको सरकारी स्वामित्वमा रहेका विभिन्न संरचनालाई अस्पताल शैय्यामा रुपान्तरण गरेर आवश्यक परे अस्पतालको रुपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न भनिएको छ। केन्द्रको सरकारी वा नीजि कुनै अस्पतालमा भएका सबै आईसीयु बेडहरु कोरोनाका बिरामीलाई मात्र प्रयोग गर्न सकिने अवस्थामा राख्न चिकित्सक नेपालले माग गरेको छ।
यस्तै, प्रयोगशाला परीक्षणको क्षमता तत्काल बढाई प्रदेश तहसम्म विस्तार गर्नुपर्ने, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरुको बजारमा कृत्रिम अभाव गर्नेलाई कडा कारबाही गर्नुपर्ने लगायत माग गरिएको छ।