काठमाडौं - अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशनले नेपाली डाक्टरलाई योङ इनोभेटर अवार्ड प्रदान गरेको छ। सोसाइटीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा किरणजंग कुँवरलाई उक्त अवार्ड प्रदान गरेको हो।
डा कुँवरले प्रस्तुत गरेको मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणमा सहजीकरण तालिकालाई उत्कृष्ठ ठहर गर्दै सोसाइटीले उक्त अवार्ड प्रदान गरेको हो।
अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशन विश्वको अग्रणी सोसाइटीमा पर्छ। उक्त सोसाइटीले प्रदान गर्ने अवार्ड प्रतिष्ठित अवार्डका रुपमा विश्वभर चिनिन्छ।
डा कुँवरलाई यसअघि दक्षिण कोरियामा भएको एसियन ट्रान्सप्लान्ट समिटमा एक करोड रुपैंया राशिको अवार्ड समेत प्राप्त गरिएको थियो।