दीपा पौडेल
प्युठान- कोरोना भाइरस (कोभिड १९) को संक्रमण कम गर्न प्युठानमा सरोकारवालाको पूर्वसतर्कता बैठक सम्पन्न भएको छ।
बैठकले भैपरी आउने अवस्थामा सहज स्वास्थ्य सेवाका लागि जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्तिका साथै आर्थिक तथा प्राविधिक तयारी गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको जोखिम कम गर्नका लागि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, विभिन्न निजी संस्था, नागरिक समाज लगायतका सरोकारवालाको संयुक्त बैठक बसेको हो। बैठकले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्लाका विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहमा आवश्यक जनशक्ति र आर्थिक तथा प्राविधिक तयारी गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले जानकारी दिए।
उनले भने, ‘जोखिम न्यूनीकरणका साथै आवश्यक सतर्कताका लागि छलफल गरेका हौं, कोरोना संक्रमणको जोखिमसँगै अत्यावश्यक औषधिहरुमा समेत कालोबजारी पनि बढ्न सक्ने भएकाले साझा प्रयासका लागि जिल्लाका सरोकारवाला सबै पक्षहरुको बैठक बसेर यस्तो निर्णय गरेका हौं।’
जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउन जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु, स्थानीय तह, सञ्चारमाध्यम, नागरिक समाज, पेसाकर्मी, समाजसेवी, सामाजिक अगुवाहरुसँगको सहकार्यमा सचेतनामूलक सञ्चार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
जोखिमको अवस्थामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि जिल्लास्थित स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको समयमा स्वास्थ्य सेवा उपलव्ध गराउने गरी तयारी अवस्थामा रहन समन्वय गर्ने निर्णय भएको छ।
त्यस्तै कोरोना संक्रमणको सम्भावित जोखिमको बहानामा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव हुन नदिन औषधी व्यवसायी संघ, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ लगायत सरोकारवाला निकायलाई आवश्यक वस्तु तथा सेवा सहज तरिकाले उपलव्ध गराउने गरी तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णय भएको छ।
जिल्लामा औषधि अभाव छैन : सुवेदी
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जिल्लामा हाल आवश्यक पर्ने कुनै पनि औषधि अभाव नरहेको बताए। नेपाल सरकारबाट वितरण हुने विभिन्न प्रकारका औषधि पर्याप्त रहेको बताउँदै उनले औषधि अभावको हल्लाको पछि नलाग्न समेत अनुरोध गरे।
बैठकमा औषधि व्यवसायीहरुले जिल्लामा ५ महिनासम्मका लागि पुग्ने औषधि रहेको बताएका छन्। हाल नेपालमा बन्ने औषधि पर्याप्त रहेको र निरन्तर निकासी भैरहेको तर भारतबाट आउने रगतबाट दिइने इन्जेक्सन लगायतका औषधि नियमित रुपमा आउन नसकेको औषधि व्यवसायी नवीन गौतमले बताए।
जिल्लाका स्थानीय तहहरुले कोरोना संक्रमणवाट बच्नका लागि आआफ्नो तयारी थालेका छन्। प्युठान नगरपालिकाले ६ महिनाका लागि नगरपालिकामा आवश्यक पर्ने औषधि खरिद गरी तयारी अवस्थामा राखेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए।
ऐरावती गाउँपालिकाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गाउँगाउँमा गन्धर्वहरुको टोलीलाई खटाएको छ। सन्देशमूलक गीतसहित गन्धर्वहरु गाउँगाउँ पुगेर सन्देश प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए।
जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले प्युठानको स्वर्गद्वारी दर्शन गर्नका लागि भारतबाट आवतजावत गर्ने संख्या धेरै रहेको र भारतमा पनि यसको संक्रमण फैलिएकोले सतर्कता अपनाउनु जरुरी रहेको बताए।