काठमाडौं- नेपाल नर्सिङ काउन्सिलकी सदस्य जीता बराल फेसबुक च्याट प्रकरणमा आफ्नो नाम जोडिएपछि रजिस्ट्रार बिन्दा घिमिरेले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन्।
उनले परिषद् र परिषदमा आबद्धको नाम लिएर बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याई कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेकी छन्।
बिहीबार प्रेम विज्ञप्ति जारी गर्दै रजिस्ट्रार घिमिरेले काउन्सिलका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको समेत बताएकी छन्।
सदस्य बरालको फेकबुक म्यासेन्जरमा लाइसेन्समा सहभागी हुने एक विद्यार्थीसँग तीन लाख रुपैयाँ दिए पास गराइदिने भन्दै आइएमई मार्फत पैसा पठाइदिएको स्क्रिनसट सामाजिक सञ्जालमा बाहिरिएको छ।
यही फागुन २४ गते काउन्सिलको २४औं लाइसेन्स परीक्षा भएको थियो। ५ हजार नर्समध्ये ४ हजार ३ सय ९० नर्स र ८ मध्ये ७ मिडवाइफ उत्तीर्ण भएका थिए।
परीक्षा सकिएपछि बाहिरिएको कुराकानीमा काउन्सिलका रजिस्ट्रार घिमिरेको नाम समेत जोडिएको छ। सदस्य जीताले ती विद्यार्थीसँग बार्गेनिङ गरेको देखिन्छ। रजिस्ट्रारलाई समेत पैसा दिनुपर्ने भएकाले तीन लाख दिनुपर्ने र जसरी पनि पास गराइदिने उल्लेख छ।
नर्सिङ लाइसेन्स परीक्षाका विषयलाई लिएर काउन्सिलका सदस्यद्वारा गरेको वार्गेनिङबारे निजसँग सोधपुछ गरेको समेत विज्ञप्तिमा उल्लेख छ।
‘उहाँले आफ्नो फेक आइडी बनाई आपराधिक समूहले सो कार्य गरेको परिषद्लाई जानकारी गराउनुभएको छ। साथै ‘फेक’ आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ,’ घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
रजिष्ट्रार घिमिरले यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको बताएकी छन्।
नेपाल नर्सिङ परिषद्ले सञ्चालन गर्ने परीक्षा पूर्णतः वैज्ञानिक, निष्पक्ष र पारदर्शी हुने भन्दै रजिस्ट्रार घिमिरेले भनिन्, ‘परिषद् अन्तर्गत परीक्षा समिति रहने व्यवस्था छ। यसका सबै प्रश्नहरु वस्तुगत हुन्छन्। उत्तरपुस्तिका ‘कोडिङ’ प्रणालीबाट तय गरिन्छ।’
उनले परीक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परीक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलेर जाँचका लागि स्क्यानिङमा हालिन्छ। स्क्यानिङमा हाल्ने वित्तिकै मेसिनले नै स्वतः यसको रिजल्ट दिने जानकारी गराएकी छिन्।
यसरी निस्कने रिजल्टको सबै प्रतिमा समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि मात्र त्यो रिजल्ट सार्वजनिक गरिने उनको भनाइ छ।
उत्तरपुस्तिका जाँचमा कसैको प्रभाव रहँदैन। यसर्थ प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने भन्दै उनले सबैलाई भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न अपिल गरेकी छिन्।