काठमाडौं- स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली (एचएमआइएस) रोडम्यापको प्रारम्भिक मस्यौदा तयार गरेको छ।
महाशाखाले सूचना प्रणालीलाई व्यवस्थित बनाउन निजी स्वास्थ्य संस्थालाई समेत समेट्ने गरी रोडम्याम बनाउन लागेको हो।
अहिले सरकारको सूचना प्रणालीमा सरकारी स्वास्थ्य संस्थाको मात्र सूचना रिर्पोटिङ हुने गरेको छ। तर निजी स्वास्थ्य संस्थामा उपचार गराउने मानिसको संख्या धेरै भएपनि त्यसबारे आधिकारीक तथ्याङक आउन सकेको छैन।
सरकारले आव ०५१/५२ देखि एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली लागू गरेको हो। तर सो प्रणाली अन्तर्गत सरकारी संस्थाबाट प्रदान गरिएका सेवा मात्र समेटिएको थियो।
जिल्ला जन/स्वास्थ्य कार्यालयमार्फत हरेक जिल्लामा प्रदान गरिएको स्वास्थ्य सेवा तथा कार्यक्रमबारे रिर्पोटिङ हुने गर्थ्यो। संघीयता लागु भएपछि भने स्थानीय तहले सम्बन्धित प्रदेश र प्रदेशले केन्द्रलाई रिर्पोटिङ गर्ने व्यवस्था छ।
पछिल्लो दुई वर्षमा संघीयताका कारण एचएमआइएसको रिर्पोटिङ खस्किएको छ। कर्मचारी समायोजन र कतिपय कर्मचारीको दरबन्दी काटिएपछि केन्द्रमा हुने रिर्पोटिङ रोकिएको छ। जसका कारण स्वास्थ्य सेवामै प्रभाव परिरहेको छ। रिपोर्टिङ नहुँदा कार्यक्रमहरु बनाउन र लागू गर्न समस्या भएको कर्मचारीहरु बताउँछन्।
सरकारी र निजि स्वास्थ्य संस्थाबाट प्रदान गरिने सबै सेवाको सूचना एकीकृत र व्यवस्थित बनाउन, संघीयताअनुकूलको सूचना प्रणालीको विकास गर्न रोडम्याप आवश्यक भएको महाशाखाले जनाएको छ।
व्यवस्थापन महाशाखा, स्वास्थ्य सुचना व्यवस्थापन शाखाका तथ्याङक अधिकृत वीरबहादुर रावलले देशमा व्यवस्थित स्वास्थ्य सूचना प्रणाली भएमा नीति निर्माण कार्यमा सहज हुने बताए।
उनले भने,‘सबैले फरक फरक सफ्टवेयरबाट तथ्याङक राख्दै आउनुभएको छ, जसका कारण सूचना पाउन समस्या छ। रोडम्याप बनेपछि सबै सूचना एकै प्रणालीबाट केन्द्रमा संकलन हुने गरी व्यवस्था गर्ने उद्देश्य छ।’