काठमाडौं- सानेपा, ललितपुरस्थित स्टार हस्पिटल स्थापनाको १३औँ वर्ष पार गरी १४औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले वार्षिक उत्सवका अवसरमा अस्पतालले छुटमा प्रदान गर्न गइरहेको सेवाको बारेमा प्रकाश पारेका थिए।
अस्पतालले यही चैत २ गतेदेखि ७ गतेसम्म सम्पूर्ण ओपिडी सेवा, ओपिडीबाट हुने परीक्षणहरु, भर्ना शुल्क, अपरेसन शुल्क लगायत हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा ५० प्रतिशत छुट तथा औषधिमा १० प्रतिशत छुट प्रदान गर्ने निर्णाय गरेको छ। त्यसैगरी संस्थामा कार्यरत कर्मचारी तथा चिकित्सकहरुलाई सम्मान गरी सप्ताहव्यापी कार्यक्रम समापन गर्ने घोषणा गरेको छ।
कार्यक्रममा अस्पतालका अध्यक्ष किशोरकुमार महर्जनले बिरामीहरुलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार हस्पिटल सफल हुनुमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए। अस्पतालले आइभिएफ सेवा तथा एड्भान्स्ड जिआई एन्ड ल्याप्रोस्कोपिक सेन्टर सञ्चालन गर्न गइरहेको जानकारी दिँदै उनले निकट भविष्यमा नै स्टार अस्पताल सुपरस्पिेसियालिटी अस्पतालमा परिणत हुने बताए।
केही महिनाअघि थप लगानीसहित नयाँ सेयर सदस्य थपिएपछि अस्पतालले अधिकांश विधामा फुलटाइम चिकित्सक सहित सेवाको दायरा बढाउँदै लगेको छ। १०० शय्याको क्षमता रहेको अस्पतालको विभिन्न स्वास्थ्य शिक्षा पढाइ हुने कलेज समेत सञ्चालनमा रहेका छन्।