काठमाडौं- गैरमुनाफामुखी च्यारिटी हस्पिटलको रुपमा सञ्चालित मुग्लिङ हाइवे हस्पिटलले आफ्नो सेवा तथा सुविधा विस्तारको लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्झौता गरेको छ। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवाल र मुग्लिङ हाइवे हस्पिटलका अध्यक्ष रामबहादुर लामाबीच हस्ताक्षर भई सम्झौता कार्यान्वनयमा ल्याइएको हो।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मातहतको टिचिङ हस्पिटल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरुद्धारा मुग्लिङ हाइवे हस्पिटलमा सूचना प्रविधिको माध्यमद्धारा नियमित सेवा तथा सुविधा प्रदान गरिने छ।
नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, एकेडेमिक र नन एकेडेमिक तालिम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, मुग्लिङ हाइवे हस्पिटलबाट टिचिङ हस्पिटलमा उपचाररत बिरामीहरुको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराउनुका साथै बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी पहिलो चरणको कार्याक्रम लागू गरिने छ।
२ वर्षीय समयावधिको यस सम्झौताको दोस्रो चरणमा टिचिङ हस्पिटलको एक्सटेन्सन हस्पिटलको रुपमा मुग्लिङ हाइवे हस्पिटललाई विकसित गरिने योजना रहेको बताइएको छ।