स्याङ्जा – कालीगण्डकी गाँउपालिका–१ चण्डीभन्ज्याङ स्याङ्जामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
गाँउ सेवा परिवार विर्घा स्याङ्जाको आयोजना तथा बिपी स्मृति अस्पताल बसुन्धारा काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।
शनिबार भएको उक्त शिविरमा ४ सय २६ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँ सेवा परिवारका अध्यक्ष एवं शिविर संयोजक डा धनबहादुर रानाले जानकारी दिए।
शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिइएको थियो।
यस्तै, शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाब जाँचको व्यवस्था समेत गरिएको थियो।
शिविरका लागि १९ जना चिकित्सक र नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका २१ जना गरि जम्मा ४० जनाको टोली खटिएको थियो। शिविरमा आवश्यकता अनुसार निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
डा रानाका अनुसार परीक्षणका क्रममा गाँउमा मधुमेह, उच्च रक्तचापका साथै पाठेघर खसेका बिरामीहरुको संख्या धेरै नै देखिएका थिए।
यस्तै मुख तथा दन्त स्वास्थ्य सम्बन्धी समस्या भएका, छालारोग सम्वन्धी समस्या भएका बिरामीको संख्या समेत उल्लेख्य थियो।
सोहि कार्यक्रमकै अवसर पारेर गाँउ सेवा परिवार विर्घाले भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स विर्घा स्वास्थ्य चौकीलाई हस्तान्तरण पनि गरेको थियो।
गाँउ सेवा परिवार विर्घाका महासचिव राजेन्द्र प्रसाद पाण्डेले एम्बुलेन्स आएपछि त्यस क्षेत्रका बिरामीका लागि ठूलो मद्धत पुग्ने बताए।

