काठमाडौं— राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि तत्काल सम्बन्धन दिन नसक्ने जवाफ दिएको छ।
बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि गत फागुन १ गते आयोगमा निवेदन दर्ता गराएको थिए।
आयोगले उनको निवेदन र संलग्न कागजपत्रको अध्ययन गर्दै आवश्यक कागजपत्रहरु पुरा नभएको भन्दै तत्काल सम्बन्धन दिन नसक्ने जनाएको हो। आयोगले तत्काल सम्बन्धन दिन नसक्ने विवरणसहितको पत्र बिएण्डसीलाई पठाउने निर्णय गरेको छ।
सम्बन्धन लिन चाहने मेडिकल कलेजले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ११ अनुसार आशयपत्र लिनुपर्ने व्यवस्था रहेकोले बिएण्डसीले सो पत्र पेश नगरेको आयोगले जनाएको छ।
आयोगले कलेजले पेस गरेको आशयपत्र पहिलोपटक २०७३ कार्तिक ११ मा एक वर्षका लागि लिएको मनसाय पत्रको म्याद सकिएको र सोभन्दा पछि म्याद थप नभएको जनाएको छ।
यसका साथै कलेजले विश्वविद्यालयको सहमति पत्र समेत नबुझाएको आयोगले बिएण्डसीलाई पठाउन लागिएको पत्रमा उल्लेख छ।
आयोगले आवश्यक काजगपत्र नपुगेको र निमार्णाधीन चिकित्सा शिक्षा नियमावली २०७६ पश्चात् मात्र सम्बन्धन दिने/नदिनेबारे एकीन हुने विवरण पनि पत्रमा लेखेको छ।