काठमाडौं- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) का चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरुलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै संघले घटनाको सत्यतथ्य छानबिन गरी कानुनी बाटो अवलम्बन गर्नुको सट्टा चिकित्सकमाथि सांघातिक आक्रमणमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको हो।
बिरामीको उपचारको क्रममा निधन भएको घटनालाई लिएर युसिएमएसको आइसियुमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले सांघातिक आक्रमण गरेका थिए।
संघले बिरामीको उपचारमा कुनै पनि कसुर बाँकी नराखी अथक प्रयासका बाबजुत पनि उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसरमा हुलहुज्जत गर्ने, चिकित्सकमाथि नै हातपात गर्ने जस्ता गतिविधिले स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल गिराएको उल्लेख गरेको छ।
उक्त घटनाका सम्बन्धमा संघको लुम्बिनी शाखाको तर्फबाट चालिएको कदमप्रति ऐक्यबद्धता जाहेर गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका निम्ति संघले जस्तोसुकै कडा कदम चाल्न पछि नपर्ने विज्ञप्तीमा उल्लेख गरेको छ।
संघको लुम्बिनी साखाले घटनापश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज प्रशासन, स्टुडेन्ट वेलफेयर सोसाइटी, नेपाल चिकित्सक संघ लुम्बिनी साखाका प्रतिनिधिहरु बसी जिल्ला प्रशासनमा छलफल भएको विज्ञप्तिमा उल्लेख गरेको छ।