प्युठान- जिल्ला अस्पताल प्युठानलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। जिल्लाको एक मात्र सरकारी अस्पताल प्युठान जिल्ला अस्पताल बिजुवारलाई आज एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको हो।
नर्भिक इन्टरनेसनल हस्पिटल काठमाडौंको सहयोगमा अस्पतालमा आउने बिरामीका लागि आवश्यक पर्ने करिब ३ लाख रुपैयाँ बराबरकोे ३५ थान म्याट्रेस बेड, ३५ थान सिरानी, ३५ थान ब्ल्यांकेट र ७० थान बेड कभर हस्तान्तरण गरिएको हो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलको पहलमा नर्भिक इन्टरनेसनल हस्पिटल काठमाडौंले दिएको सामग्री डा पोखरेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीलाई प्रदान गरेका हुन्।
कार्यक्रममा प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले अस्पतालको विकासको लागि आफूहरु लागि परेको भन्दै अस्पतालको विकासमा सहयोग रकम जुटाउन पहल गर्नुभएकोमा डा पोखरेललाई धन्यवाद दिए। उनले भने, ‘अस्पतालको विकास र सुधारको लागि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म पहल गरिरहेको छु। नगर प्रमुखका नाताले पनि यसको स्तरोन्नति गर्न र यहाँबाट स्तरीय सेवा प्रदान गर्नसक्ने बनाउनु मेरो दायित्व हो, यसका लागि प्रतिबद्ध छु।’
त्यस्तै कार्यक्रममा सहयोग जुटाउन पहल गरेका डा पोखरेलले अस्पतालमा उडुसले टोकेर बिरामीलाई सास्ती भएको आफूले थाहा पाएको र नर्भिक अस्पतालका फाउन्डर बसन्त चौधरीको सहयोगमा उक्त सामान जिल्ला अस्पताललाई प्रदान गरिएको बताए। उनले भने, ‘जिल्लाको अस्पतालमा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ। अस्पतालको स्तर जति वृद्धि गर्न सक्छौं हामीलाई नै सजिलो हुन्छ।’
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले आफू जिल्ला अस्पतालमा आएदेखि अस्पतालको सुधारका लागि मिहिनेत गरिरहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले पहिलेको तुलनामा अस्पतालमा व्यवस्थापन र सेवाको सुधार भएको बताए। नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रतिबद्ध रहेको उनको भनाइ छ।