प्युठान- तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण तथा जोखिम कम गर्न प्युठान नगरपालिकाले देश बाहिरवाट आएका नगरबासीलाई अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ।
देशभन्दा बाहिरबाट जिल्लामा भित्रिने नगरबासीलाई कम्तीमा २ हप्ता आफ्नै घरमा बस्न प्युठान नगरपालिकाले अनुरोध गरेको हो।
कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यक काममा बाहेक भीडभाड तथा मानिस जम्मा हुने ठाउँमा नजान नगरपालिकाले सबै नागरिकलाई अनुरोध गरेको छ।
नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा आज बसेको स्वास्थ्यकर्मी, पत्रकार र सरोकारवालाहरुको संयुक्त बैठकले संक्रमणबाट जोगिन सजगता अपनाउनुका साथै अनावश्यक होहल्लाको पछि लागेर त्रसित हुने वातावरण कम गर्न नगर क्षेत्रका वस्तीहरुमा माइकिङ गर्ने निर्णय गरेको नगर प्रमुख कक्षपतिले जानकारी दिए। उनले जरुरी अवस्था बाहेक सेवाग्राहीको चाप धेरै हुने कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक यातायात लगायतका धेरै मानिस भीडभाड हुने स्थानमा नजान आग्रह गरे।
कतिपय संक्रमित व्यक्तिमा संक्रमण भइसकेपछि पनि तुरुन्तै लक्षण नदेखिने तर अरुलाई सार्न सक्ने भएकाले संक्रमित क्षेत्रबाट आएका नगरबासीहरुलाई रोगको लक्षण नदेखिए पनि घरभित्र सुरक्षित रहेर अरुको सम्पर्कमा नजान नगरपालिकाले आह्वान गरेको हो।
नगरपालिकाले भैपरी आउने अवस्थामा स्वास्थ्य सामग्री, खाद्य सामग्री र अत्यावश्यक वस्तुको अभाव हुन नदिन आवश्यक तयारी गरेको नगरप्रमुख कक्षपतीले बताए। उनले भने, ‘इमरजेन्सी अवस्थामा स्वास्थ्यकर्मीलाई खटाउन आवश्यक पर्ने सामग्री सहित औषधिसमेत तयारी अवस्थामा राखिएको छ।’
नगरपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन र फैलिन नदिन सरकारका सबै निर्णयहरु कार्यान्वयन गर्न समेत सबैमा आग्रह गरेको छ।