काठमाडौं– विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस नियन्त्रण र रोकथामका उपायबारे आफ्ना अनुभव बाँड्न चीनले नेपालसहित विभिन्न १० देशसँग भिडियो कन्फ्रेन्स गर्ने भएको छ।
कोरोना प्रकोपबाट विस्तारै बाहिर निस्किन लागेको चीनले शुक्रबार युरोपेली- मध्य एसिया र दक्षिण एसिया क्षेत्रका १० देशसँग भिडयो कन्फ्रेन्स गर्न लागेको हो।
नेपाली समयअनुसार करिब १ बजेतिर १० देशसँग चीनले संयुक्त रुपमा भिडियो कन्फ्रेन्स गर्न लागेको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले कन्फ्रेन्समा चिनियाँ विदेश मन्त्रालय, राष्ट्रिय स्वास्थ्य अयोग र भन्सारका प्रतिनिधि सहभागी हुने छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले चीनले कोरोनाविरुद्ध लड्दा हाँसिल गरेको ज्ञान आदान-प्रदान हुने बताए। ‘उताको अनुभव के रह्यो? यदि यता संक्रमण भयो भने त्यससँग कसरी जुध्ने भन्ने विषयमा अनुभव सुन्ने काम हुन्छ,’ पौडेलले भने।
परराष्ट्र मन्त्रालयको सभाहलबाट हुने उक्त भिडियो कन्फ्रेन्समा परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट सहभागिता हुने छ।