काठमाडौं – कोरोना भाइरस संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३० जनाको नमूना परीक्षण भइरहेको छ।
शुक्रबार र शनिबार संकलन भएका नमूनाको कोरोना आशंकामा प्रयोगशालामा परीक्षण भइरहेको हो। उनीहरु सबैको रिपोर्ट आइतबार बिहान आउने प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
काठमाडौं सहित उपत्यका बाहिरका अस्पतालबाट कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रयोगशालाले जनाएको छ। यसअघि शुक्रबार परीक्षण गरिएका ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोनाको आशंकामा नेपालमा हालसम्म ५ सय ७९ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो। उनी पनि निको भइसकेका छन्।