काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम र नियन्त्रणकालागि मन्त्रालय र विभागका महाशाखा प्रमुखलाई कार्य विभागजन गरेको छ।
नेपालमा हालसम्म २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। एक जनालाई गत माघ ८ गते संक्रमण भएको पुष्टि भएको थियो। हाल उनी निको भइसकेका छन्।
यस्तै आइतबार बेलुका एक १९ वर्षिया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
यो सँगै मन्त्रालयले नेपालमा संक्रमण देखिएपछि रोकथामका लागि आवश्यक तयारी गर्न सक्रियता बढाएको छ।
सोही क्रममा विभिन्न महाशाखा प्रमुखहरुलाई तयारी व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी लिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विभिन्न १४ कार्यका लागि जिम्मेवारी दिई व्यवस्थापनको जिम्मेवारी दिएको हो। मन्त्रालयले वैदेशिक समन्वय एवम् अस्पतालको तयारी गर्ने जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई दिएको छ।
अर्का प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई अन्तरमन्त्रालय/निकाय प्रदेश समन्वय र प्राविधिक समितिको दिइएको छ भने औषधि व्यवस्थापनको जिम्मा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले पाएका छन्।
त्यसैगरी, कर्मचारी व्यवस्थापन र कर्मचारी प्रोत्साहन तथा बीमा व्यवस्थापन शासन प्रमुख रघुराम विष्टले गर्नेछन् भने अस्पतालसम्बन्धी व्यवस्थापन, क्रिटिकल केयर समन्वय र प्याथोलोजी एडभाइजरी कमिटिको जिम्मेवारी डा गुणराज लोहनीलाई दिइएको छ।
आपूर्ति व्यवस्थापनको जिम्मेवारी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले गर्नेछन्। डा तारानाथ पोख्रेललाई प्रयोगशाला व्यवस्थापन र सैलजा रेग्मीलाई सुचना व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले क्षमता अभिवृद्धि व्यवस्थापन र परिचालन व्यवस्थापन गर्नेछन्। उनीहरु सबैको गतिविधिबारे जानकारी लिने आवश्यक समन्वय गर्ने कार्य एचइओसीका प्रमुख सागर दाहालले गर्नेछन्।
त्यसबाहेक, दैनिक दैनिक गतिविधिको नेपाली र अंग्रेजी भाषामा जानकारी अभिलेख राख्न भीमप्रसाद सापकोटा, सञ्जिव गौतम, डा सुभाष न्यौपाने र राजिव देवकोटालाई जिम्मेवारी दिइएको छ।
त्यसैगरि, इमेल, अस्पतालहरुसँग आवश्यक समन्वय,आवश्यक समन्वय पत्रचारलगायत कार्य लागि पनि मन्त्रालयले विभिन्न कर्मचारीलाई जिम्मेवारी दिएको छ।