काठमाडौं- वीरगञ्जका शिवकुमार रुंगटामा विस्तृत स्वास्थ्य रिपोर्टमा कोरोना भाइरसको संक्रमण नभएको देखिएको छ। पटनाको एक अस्पतालमा उपचाररत रुंगटाको विस्तृत स्वास्थ्य रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको हो।
कोरोना आधिकारिक पुष्टिका लागि गरिएको रियल टाइम पोलिमर चेन्ज रिएक्सन (आरटिपिसिआर) परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ।
आइतबार दिउँसो परिवारका सदस्यले रुंगटाको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको जानकारीका आधारमा पर्साका स्वास्थ्य, सुरक्षा र स्थानीय प्रशासन सक्रिय भएको थियो। स्थानीय प्रशासनको निर्देशन अनुसार उनको घरमा रहेका १४ जनालाई नै होम क्वारेन्टाइनमा राखिसकेको छ भने उनको घर प्रहरीको निगरानीमा छ।
जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले प्रारम्भिक सूचनाका आधारमा रूंगटाको परिवार होम क्वारेन्टाइनमा बसेको जानकारी दिएकी थिइन्।
रुंगटाका भतिज डा मनोज रूंगटाले स्क्रिनिङका क्रममा काका (शिवकुमार)मा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको तर विस्तृत प्रतिवेदन आउन बाँकी रहेको बताएका थिए।
विस्तृत मेडिकल रिपोर्टमा कोरोना भाइरसको संक्रमण नरहेको खुलेपछि पटनामा रहेका रूंगटाका परिवारले नारायणी अस्पतालका चिकित्सकलाई स्वास्थ्य प्रतिवेदन पठाएका थिए। सो प्रतिवेदनमा रुंगटामा संक्रमण नदेखिएको उल्लेख छ।

*यसअघि प्रकाशित समाचारमा अन्यथा जानकारी पर्न गएकाले सच्याइएको छ।