काठमाडौं— बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्थाले त्यहाँ रहेका विद्यार्थीलाई सुरक्षित भई बस्न आग्रह गरेको छ।
नेपाप्लिज मेडिकल स्टुडेन्टस एशोसियसन बंगलादेशले कोरोना भाइरसको महामारीका समयमा नेपाल फर्कन नसकेका विद्यार्थीहरुलाई सुरक्षित रहन र आवश्यक परेमा कुटनीतिक नियोगमा सम्पर्क राख्न अनुरोध गरेको छ।
एशोसियसनले विद्यार्थीहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन र सामाजिक दुरी बढाउन, विद्यार्थी, कलेज प्रशासन र नेपाली राजदुतावाससँग फोन एव्म इन्टरनेटमार्फत सम्पर्कमा रहन पनि एशोसियसनका अध्यक्ष नविन यादवले अपिल गरेका छन्।
बंगालादेश सरकारले कोरोना भाइरसको महामारी रोक्न मार्च २६ देखि अप्रिल ४ सम्म लागु हुने गरी अतिआवश्यक सेवा बाहेक सबै सरकारी एवम् निजी संस्थान, यातायात र दैनिक सार्वजनिक क्रियाकलाप बन्द गर्ने घोषणा गरिसकेको छ।
नेपालले पनि आइतबारबाट एक हप्ताका लागि देभभर लकडाउन गरेको छ।
एसोसिएनसले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा त्यहाँ रहेका देशका कुटनीतिक नियोगमा सम्पर्क राख्न आग्रह गरेको विषय ध्यानाकर्षण गराएको छ।
'लकडाउन अवधिभर आफ्नो स्थानमा सुरक्षित भएर बसौँ। यस अवधिलाइ हामीले कोरोनाको व्यवस्थापन एवं तयारीका अवधिका रुपमा लिएका छौं र यसमा हाम्रो पूर्ण समर्थन छ' अध्यक्ष यादवले भने, 'साथै नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गर्ने बारे पनि गम्भीर रहेको विश्वाश लिएका छौं र सो बारे पहल गर्न बंगलादेशस्थित नेपाली राजदुतावासलाई विनम्र अनुरोध गर्दछौं।'