काठमाडौं– स्वास्थ्य सामग्री व्यवसायीहरुको संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले देशभरका हरेक अस्पताल र स्वास्थ्य संस्थाहरुमा चौबिसै घन्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न र आवश्यकता अनुसार मर्मत संभारको कार्य गर्ने व्यवस्था मिलाउन संघमा आवद्ध व्यवसायी तथा कर्मचारीलाई अपिल गरेको छ।
संघका अध्यक्ष सुरेश घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ भाइरसको समस्यासँग जुध्न आफ्नो सामथ्र्यले भ्याएसम्म हरेक स्वास्थ्य संस्थामा सामग्री आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरेका हुन्।
‘हामीले आफ्नो सामर्थले भ्याएसम्म हरेक अस्पताल र स्वास्थ्य संस्थामा चौबिसौँ घन्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्ने र आवश्यकताअनुसार मर्मतसम्भारको कार्य गर्ने व्यवस्था मिलाउन सहयोग गरिदिनहुन सम्पूर्ण व्यवसायी र सम्वद्ध कर्मचारी साथीहरुलाई हार्दिक अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ।
सेवा प्रदान गर्दा आवश्यक दूरी कायम गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न पनि संघले अनुरोध गरेको छ।
कोभिड–१९ बाट बँच्न सरकारले चालेका कदमहरुलाई संघले पूर्ण समर्थनका साथ स्वागत पनि गरेको छ।
‘अहिलेको परिस्थितिमा हामी यस विषयसँग सम्बन्धित व्यवसायी भएकाले पनि राष्ट्र सेवाको गम्भीर परीक्षाको घडीमा उभिन आइपुगेका छौँ। यस संकटको समयमा हामी सम्बद्ध सबै व्यवसायी साथीहरु एकजुट भई व्यक्तिगत स्वार्थवाट माथी उठी राष्ट्रको स्वार्थमा खरो उत्रिन सफल हुनेछौँ र अहिले हाम्रो काँधमा आएको गम्भीर जिम्मेवारीवाट कहि कतै चुक्ने छैनौ भन्ने विश्वास छ”, विज्ञप्तिमा भनिएको छ।