समाचार

दैनिक उपभोग्य वस्तु अभाव भए ११३७ मा फोन गरौं, सरकारी भ्यानले घरमै ल्याइदिन्छ सामान

काठमाडौं- दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकार आफैंले काठमाडौं उपत्यकामा मोबाइल भ्यान संचालन गरेर सेवा दिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निजी क्षेत्रसँगको सहकार्यमा २ दर्जन मोबाइल भ्यान स्ट्यान्डबाई राखेर उपत्यकामा कतै उपभोग्य वस्तु अभावको समस्या आए परिचालन गरिनेछ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार उपभोक्ताले टोल फ्री नम्बर ११३७ मा फोन गरेर अत्यावश्यक वस्तुको माग गर्न सक्नेछन्। उपभोक्ताको माग आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोबाइल भ्यानमार्फत सम्बन्धित ग्राहकको घरसम्मै मालसामान पुर्‍याउनेछ।

केसीका अनुसार साल्ट ट्रेडिङ लिमिटेडले पनि उपत्यकामा नुन, चिनी र ग्यास ढुवानी तथा वितरण सहज बनाउन ४ वटा मोबाइल भ्यान संचालन गर्ने भएको छ। साल्ट्र ट्रेडिङले अनलाइनको माध्यमबाट आएका अर्डरलाई समेत सम्बोधन गर्नेछ। 

त्यस्तै कोरोना समन्वय समितिको बुधबारको बैठकले ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ। भाटभटेनी, बिगमार्ट, सेल्सबेरी र सेल्सवेज डिपार्टमेन्ट स्टोरहरुले यस्तो प्रकारको सेवा दिने गरी उनीहरुलाई सीमित संख्यामा सवारी साधन संचालन गर्न अनुमति दिने निर्णयसमेत समन्वय समितिको बैठकले गरेको छ।

दुर्गम क्षेत्रमा र अत्यावश्यक अवस्थामा भने हवाई माध्यमबाट समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति गरिनेछ। अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने निर्णय बुधबारको बैठकले गरेको छ। 

त्यस्तै औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णयसमेत भएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने