काठमाडौं– चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई सहयोग गरेको सामान ग्वाङ्झाओबाट नेपाल एयर लाइन्सले काठमाडौं ल्याएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान सिचुवानबाट ग्वाङ्झाओ प्रस्थान गरेको जानकारी दिएकी थिइन्। सोही विमानमा ल्याइएका समान नेपाल एयरलाइन्सले आइतबार बिहान काठमाडौं ल्याएको हो।
राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्री प्याक गरिएका कार्टुनका तस्बिर सेयर गर्दै त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्री, पीपीई, थर्मोमिटरलगायत सामान रहेको जानकारी दिएकी थिइन्।
शनिबार साढे १२ बजे चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर फर्किसकेको छ।
विमान आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको हो।
विमानले चीनको ग्वान्जाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक मेडिकल सामाग्री लगायत अन्य सामाग्री ल्याएको नेपाल उड्ड्यन प्राधिकरणले बताएको छ।
*यसअघि चिनियाँ विमान नै नेपाल आउने आशयको समाचार प्रकाशित भएकोमा सच्याइएको छ।