काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित जानकारी दिनका लागि विशेष वेबसाइट सुरु गरेको छ।
मन्त्रालयले कोरोनासँग सम्बन्धि सबै जानकारी दिन covid19.mohp.gov.np वेबसाइट आईतबारबाट सुरु गरेको हो। वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकले अब घरमै बसेर कोरोनासँग सम्बन्धित आधिकारिक जानकारी प्राप्त गर्न सक्ने बताए।
यसले संक्रमित व्यक्तिको पहिचान गर्न, अस्पतालले दिने सुविधा र संक्रमित व्यक्तिले आफ्नो अवस्था बारे थाहा पाउन सकिने मन्त्री ढकालले बताए। यस एप्सको सहयोगले नागरिक सुरक्षित रहन उपयोगी हुने बताउँदै उनले भने, ‘कुन ठाउँमा के समस्या छ भनेर हामीले एप्स मार्फत थाहा पाउन सक्छौ। नागरिक सुरक्षित रहनका लागि पनि यो उपयोगी हुन्छ।’
विभिन्न ठाउँमा रहेका अस्पताल, क्वारेन्टाइन र आईसोलेसन स्थान, अस्पतालले दिने सेवा सुविधा र कोरोना सम्बन्धी जानकारी दिने उद्देश्यका साथ एप्सको सुरुवात गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। नेपालमा हालसम्म कति नमूना परीक्षण भए, कति हुँदैछ लगायत विवरण पनि उक्त वेबसाइटमा राखिने मन्त्रालयले जनाएको छ।
व्यक्ति आफैले कोरोनाको संभावित लक्षण मूल्यांकलन गरी पहिचान गर्न पनि उपयोगी हुने डा. देवकोटाले बताए।
उनले भने, ‘व्यक्ति आफैले पनि स्व मूल्यांकलन गरी पहिचान गर्न सक्छन्। सबै कुरा यस वेबसाइडमा राखिएको हुन्छ। मन्त्रालयले कोरोना रोकथामका लागि गरिरहेको गतिविधि पनि यसमा राख्छौ।’
कोरोनाको पहिचानका लागि सातै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने अभियानमा जुटेको मन्त्री ढकालले जानकारी दिए। काठमाडौं बाहिर बागलुङ र धनगढीमा कोरोना भेटिएकाले ती क्षेत्र जोखिममा भएको उनले बताए। कोरोना रोकथामका लागि सावधानीका साथ व्यवस्थित तरिकाले अघि बढेको उनको भनाई छ।