काठमाडौं- चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि विशेष उपचार व्यवस्था गरेको छ।
अस्पतालले गरेको विशेष व्यवस्था अन्तर्गत अलग्गै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन वार्ड संचालन गरिएको अस्पतालले जनाएको छ। साथमा बिरामीका आफन्तजन तथा कुरुवाकालागि कुरुवा कक्षको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
विश्व स्वास्थ्य संगठनको निर्देश अनुसार इमर्जेन्सी स्क्रीनिङ रुम देखी आइसोलेशन वार्डसम्म पुर्यानउनकालागि छुट्टै रेडमार्कड पाथको समेत व्यवस्था गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महामारीका कारण उत्पन्न बिषम परिस्थितिमा कोभिड-१९ संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारकालागि आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट-पिपिई समेत आफैं तयार गरेको अस्पतालले जनाएको छ। उपचारका लागि आवश्यक उपकरण औषधि र स्वास्थ्यकर्मीका लागि ओरियन्टेसन समेत गरेर तयार अवस्थामा राखिएको छ।
राज्यको निर्देशन अनुसार शंकास्पद कोरोनाका बिरामीहरुकालागि विश्व स्वास्थ्य संगठनले तोकेको विशेष प्रोटोकल अनुसार उपचार व्यवस्था मिलाएको अस्पतालका मेडिकल कोअर्डिनेटर डा विश्वनाथ कोइरालाले जानकारी दिए।
जस अन्तर्गत ३ बेडको अलग्गै इमर्जेन्सी स्क्रिनिङ रुम, फिवर क्लिनिक र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड संचालनमा रहेको डा कोइरालाले बताए।
कोरोना संक्रमित बिरामीकालागि आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुलाई उपचारका पछिल्ला अपडेट सहित ओरियन्टेशन समेत गरीएको उनले बताए।
अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले ॐ अस्पताल आफुसँग भएका साधन श्रोतहरुले भ्याएसम्म राज्य र नागरिकलाई सहयोग गर्ने तत्पर रहेको बताए।
अस्पतालका दक्ष तथा अनुभवि चिकित्सक र स्वास्थ्यकर्मीहरु सदाझैं तयार अवस्थामा रहेको जानकारी उनले दिए।
