पूर्ण बहादुर खड्का
अछाम- साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण पिपिई प्रदान गरेको छ।
कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र उपचारको कामलाई सहज बनाउन नगरप्रमुख कुलबहादुर कुँवरको नेतृत्वमा बयालपाटा अस्पताललाई १५ सेट पिपिई प्रदान गरिएको हो।
प्रति सेट १८ हजार पर्ने २ लाख ७० हजार बराबरका १५ वटा पिपिई नगर प्रमुख कुँवरले अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनलाई हस्तान्तरण गरेका हुन्।
व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरी स्वास्थ्यकर्मीले ढुक्क साथ काम गर्नु सकुन भन्ने हिसाबले पिपिई प्रदान गरिएको नगर प्रमुख कुँवरले जानकारी दिए।
भारत तथा अन्य मुलुकसंगै काठमाण्डौंबाट पनि अछाम भित्रिनेको संख्या बढी भएकाले जिल्ला कोरोनाको उच्च जोखिममा रहेको छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत सुरक्षाका साम्रागी प्रयोग गरि कोरानाको जस्तै लक्षण देखिएका, शंका लागेका, क्वारेन्टाइनमा बसेका तथा आइसोलेसनमा रहेका बिरामीलाई उपचार गर्न सहज होस् भन्ने हेतुले पिपिई सेट उपलब्ध गराइएको नगर प्रमुख कुँवरको भनाइ छ।
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचनले पिपिईको अभाव भइरहेको समयमा नगरपालिकाले उपलब्ध गराएकोमा धन्यवाद दिए।