दीपा पौडेल
प्युठान- विश्वभर कोरोना भाइरस (कोभिड –१९) को संक्रमण दिन प्रति दिन फैलिरहेको समयमा प्युठानका निजी क्लिनिक संचालकहरुले स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन्।
जिल्लामा स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आफुहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको सक्रिय फर्मा बिजुवारका संचालक नविन गौतमले बताए।
उनले भने –“हामीले जिल्लामा स्वास्थ्यकर्मीहरुलाई उपचार गर्दा जोखिम नहोस् भनेर सबैको सहयोगमा सुरक्षा सामग्री प्रदान गरेका हौं।”
गौतमका अनुसार ३५ हजारको पिपिइ, ३० हजारको मास्क ,२० हजारको ग्लोभ्स र १७ हजारको सेनिटाइजर गरि १ लाख २ हजार बरावरको स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई प्रदान गरिएको हो।
प्युठानका सक्रिय फर्मा सहित न्यू सुश्री फर्मा बिजुवार, अमृत फर्मा बिजुवार, कालिका मेडिकल हल बिजुवार, शाह मेडिकल हल जुम्री , रिजाल औषधी भण्डार , स्वर्गद्धारी फार्मेसी बाग्दुला र डाक्टर लेखराज सुवेदीको सहयोगमा उक्त सामग्री प्रदान गरिएको छ।
सामग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले नेपाल लगाएत विश्वबजारमा नै पिपिई लगायतका समाग्री अभाव भएको समयमा निजी क्लिनिकले उपलब्ध गराएकोमा खुसी व्यक्त गरे।
उनले भने –“स्वास्थ्यजन्य सामग्री स्वास्थ्य संस्था र सुरक्षाकर्मीका लागि समुचित रुपमा वितरण गर्नेछु।”
कोरोना भाइरस संक्रमणको त्रास चौतर्फी बढिरहेका बेला सरकारी बाहेक निजी अस्पतालहरुले सेवा गर्नुको सट्टा बन्द गरिरहेको बेला प्युठानका निजी मेडिकलहरुले गरेको सहयोगलाई सकारात्मक रुपमा लिनुपर्ने स्वास्थ्य पत्रकार मञ्च प्युठानका संयोजक नोमराज पौडेल बताए।