काठमाडौं - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ।
आइसियुमा उपचारका क्रममा मृत्यु भएका उनको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनी आइतबार अस्पताल भर्ना भएका थिए। धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए।
उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले बताए। उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएको डा शर्माले जानकारी दिए।
उनले भने, 'उहाँको मल्टिअर्गान फेल भएको रहेछ। अस्पताल पनि ढिला ल्याइयो। त्यसैले उहाँको मृत्यु भएको हो। तर हामीले कोरोनाको परीक्षण पनि गरेका थियौं। रिपोर्ट नेगेटिभ आएको छ।'
अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। मंगलबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएको उनले जानकारी दिए।