काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान)ले डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि दुव्र्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई कारबाहीको माग गरेको छ।
गोेदानले चैत १८ गते डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि दुव्र्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुनारलाई कारबाहीको माग गरेको हो।
छलफलको क्रममा विचार बाझिएपछि अस्पतालका प्रमुख डा सिजन रावललाई कुनै पत्र वा अदालती प्रक्रिया बिना हिरासतमा राखेको भन्दै गोदानले आपत्ति जनाएको छ। गोदानले आज प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका डा रावललाई तत्काल रिहा गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रजिअले अस्पतालका प्रमुख डा सिजन रावललाई विना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै बलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कविहीन बनाएको र विना आधार मेडिकल जाँच गर्न आदेश दिएको जस्तो आधारभूत मानव अधिकार समेतको ख्याल नगरी चालेको कदमको यो संघ घोर भत्सर्ना गर्दछ।’
यसका साथै छलफलमा ढिला पुगेका चिकित्सकलाई पनि उनले अपमानजनक गाली गलौज गरेको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सक माथि भएका दुव्र्यवहारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निरुत्साहित गरेको गोदानको भनाई छ। प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाई विभागीय कारबाही गर्नुपर्ने माग गोदानले अघि सारेको छ।
‘प्रजिअलाई तत्काल जिम्मेवारीबाट हटाई, विभागीय कार्वाही गर्न र अर्का समन्वयकारी भुमिका खेली सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विश्वासमा लिएर वौद्धिक तवरले समन्वय गर्न सक्ने अधिकारीलाई सो पदमा सरुवा गर्न यो संघ नेपाल सरकारसंग माग गर्दछ।’, विज्ञप्तिमा भनिएको छ।
आफ्ना मागहरु सम्बोधन नभए थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने संघले चेतावनी दिएको छ।