दीपा पौडेल
प्युठान- कोरोना भाइरसको नमुना संकलन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ।
प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला बुटवलको आयोजना र स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा अभिमुखिकरण कार्यक्रम भएको हो। अभिमुखिकरणमा प्युठान लगायत रोल्पा, दाङ र रुकुम पुर्व गरी ४ जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाकर्मी तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रममा प्यूठानका ८ जना, रोल्पाबाट ३ जना, दाङ र रुकुम पुर्वका १÷१ जना गरी १३ जनाको सहभागिता थियो।
कोरोना भाइरसका शंकास्पद संक्रमितहरुको जिल्लास्तरबाट नै नसल स्वाब नमुना संकलन कसरी गर्ने, संकलन गरिएको नमुना कसरी सुरक्षित भण्डारण गर्ने र उचित मापदण्डका साथ कसरी ढुवानी गरी तोकिएको प्रयोगशालामा जाँच गर्न सहज रुपमा पठाउने भन्ने विष्यमा जानकारी दिइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका ल्याब टेक्निसियन प्रेम कुमार यादव र कल्पना घिमिरेले गरेका थिए।