काठमाडौं - जावलाखेलस्थित क्लिनीक वानले कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउन विभिन्न तीन विधामा प्रतिष्पर्धाको आयोजना गरेको छ।
कोरोना सम्बन्धी जनचेतना जगाउन र क्वारेन्टाइनको समय सदुपयोग गर्न भन्दै क्लिनीक वानले निबन्ध, भिडियो निर्माण र पेन्टिङको प्रतिष्पर्धा आयोजना गरेको हो।
निबन्ध र पेन्टिङ बालबालिकाको लागि आयोजना गरिएको छ भने भिडियो प्रतिष्पर्धामा सबै उमेर समूहका व्यक्ति सहभागी हुन पाउने क्लिनीक वानका म्यानेजिङ डिरेक्टर सन्तोष पौडेलले बताए।
निबन्धमा सहभागी हुने बालबालिकाले ‘तपाईले कोरोना बारे कसरी थाहा पाउनुभयो ? कोरोनाको संक्रमणबाट कसरी जोगिन सकिन्छ?’ भन्ने विषयमा लेख्नुपर्ने हुन्छ।
भिडियो प्रतिष्पर्धामा सहभागी हुन चाहनेले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कसरी सही तरिकाले हात धुने भन्ने विषयमा भिडियो बनाउनुपर्नेछ भने ‘विश्वलाई कोरोना भाइरसबाट बचाउनुहोस्’ भन्ने विषयमा पेन्टिङ गर्नुपर्ने क्लिनीकले जनाएको छ।
प्रतिष्पर्धामा सहभागी हुनेले आफ्ना सामग्री [email protected] मेल आइडीमा आगामी शनिबारसम्म पठाइसक्नुपर्ने पौडेलले जानकारी दिए।
प्रथम हुनेले नगद पाँच हजार र द्धितीय हुनेले तीन हजार रुपैयाँ प्राप्त गर्ने क्लिनीक वानले जनाएको छ।