वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालले आइसोलेसन वार्ड विस्तार गरेको छ। अस्पतालमा ज्वरो तथा कोरोना आशंका गरिएका बिरामीको चाप बढेपछि वार्ड विस्तार गरिएको हो।
अस्पतालले विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा २४ घन्टाभित्र आइसोलेसन वार्डलाई २० शय्यामा विस्तार गरेको हो। यसअघि अस्पतालमा ५ शय्याको आइसोलेसन थियो।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार वीरगञ्जका निजी अस्पतालले पीपीईलगायतका सुरक्षाको सामग्री नभएको भन्दै बिरामीको उपचार गर्न नमानेपछि अस्पतालमा बरामीको चाप बढेको छ।
'सबै बिरामी यता आउँदा चाप बढ्यो यहाँ बेड नहुँदा बिरामी चितवनसम्म जानु पर्ने बाध्यता आयो,' उनले भने, 'यही समस्यालाई मनन गरेर आइसोलेसन विस्तार गरिएको हो।
अस्पतालले करिब १० लाखको लागतमा लागतमा आइसोलेसनलाई २० शय्यामा विस्तार गरेको हो।'
अस्पतालको आकस्मिक कक्षमाथि पिलर मात्र रहेको क्षेत्रलाई आवश्यक संरचना थपेर वार्डका रुपमा विस्तार गरिएको डा उपाध्यायले जानकारी दिए। वार्डका लागि सांसद, व्यापारी तथा विभिन्न संघसंस्थाले सहयोग गरेको उनले बताए।