काठमाडौं - नेपाल चिकित्सक संघले कोरोनाको उपचार हुने अस्पतालहरुमा स्थलगत अनुगमन सुरु गरेको छ। कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र अवस्था बुझ्न संघले आइतबारबाट अनुगमन सुरु गरेको हो।
सबै अस्पतालमा पर्याप्त मात्रामा पिपिई (व्यक्तिगत सुरक्षात्मक उपकरण) नभएपछि बिना पिपिई उपचारमा खटिनु परेको स्वास्थ्यकर्मीले गुनासो गर्दै आएका छन्। स्वास्थ्यकर्मीहरु कुन अवस्थामा कसरी सेवामा खटिरहेका छन् भन्ने बारे बुझ्न अनगुमन थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।
उनले भने, ‘अहिले सबै अस्पतालहरुमा पर्याप्त मात्रामा पिपिई छैन। त्यसैले विशेषगरी कोरोनाको उपचार हुने र फिबर क्लिनिकमा खटिने स्वास्थ्यकर्मीको अवस्था बारे बुझ्न हामीले स्थलगत अनुमगन सुरु गरेका हौं।’
संघले आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सिभिल अस्पतालमा अनुगमन गरेको छ। डा विश्वराज दवाडी र डा रितेश थापाको नेतृत्वमा अनुगमन सुरु भएको हो।
संघले अस्पतालहरुमा स्थलगत अनुगमन सहित अनलाइन सर्भे पनि सुरु गरेको छ। स्वास्थ्यकर्मीको अवस्था बारे बुझ्नकै लागि अनलाइन सर्भे सुरु गरिएको संघले जनाएको छ।
विभिन्न जिल्लामा गरी संघको १६ वटा शाखाहरु छन्। ती शाखामा आवद्ध पदाधिकारीले पनि जिल्ला अन्तर्गत रहेका अस्पतालहरुमा अनुगमन गर्ने अध्यक्ष कार्कीले जानकारी दिए।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भए जोखिम बढी हुने र उपचारका लागि जनशक्ति कम हुने भएकाले अनुगमन आवश्यक भएको उनले बताए।
‘भोलि चिकित्सक नै बिरामी भए भने उपचारमा कमी आउन सक्छ’, उनले भने, ‘जनशक्ति घट्छ र काम बढ्छ। यदी चिकित्सकलाई संक्रमण भए पुरा समुदाय नै बढी जोखिममा हुन्छ।’
अनुगमन सकिएपछि निष्कर्ष सहितको रिपोर्ट निकाल्ने संघले जनाएको छ। जसमा सुधार गर्नुपर्ने पक्ष, चिकित्सकको अवस्था लगायतका विषयहरु समेटिने डा कार्कीले बताए। आवश्यक परे उक्त मन्त्रालयमा पनि पेश गरिने उनको भनाइ छ।


.jpg)
.jpg)
.jpg)
