काठमाडौं- नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) र नेपाल एम्बुलेन्स सेवा (नास)बीच एम्बुलेन्स सेवाका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
यो सम्झौता पश्चात नासले कोभिड१९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउने बताइएको छ।
यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स सञ्चालन हुनेछन्। जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पिपिई पनि उपलब्ध हुनेछ। कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोध सबै निकायहरुले हाल सञ्चालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन्।
सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नासका अध्यक्ष रञ्जीत आचार्यले यसअघि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइरहेका बताए।
उनले भने, ‘नासले यसैपनि जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४सै घण्टा सेवा प्रदान गर्दै आइरहेको छ। कोभिड१९ रोकथाम र यस सम्बन्धि बिरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौ।’