ओखलढुंगा- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले विभिन्न स्वास्थ्य समस्या कारण नियमित सेवन गर्ने औषधि बिरामीको घरसम्मै पुर्याइदिने भएको छ।
गाउँपालिकाले लकडाउनका कारण नियमित सेवन गर्नुपर्ने औषधि नपाएर समस्या भएको जानकारी आएपछि आफ्नो क्षेत्रका नागरिकलाई आवश्यक पर्ने औषधि घरमै पुर्याइदिने व्यवस्था गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले नियमति औषधि नपाएर समस्यामा परेका नागरिकलाई मागअनुसारको औषधि ल्याउन सहजीकरण गर्ने र घरमै पुर्याइदिने योजना बनाइएको बताए।
उनले भने,‘समस्यामा परेका बिरामीलाई औषधिको नाम र मात्रा सकेसम्म पुरानो औषधिको खोलसमेत जानकारी गराउनुस्,हामी घरैमा ल्याइदिन्छौँ भनेका छौं।’
औषधिको नाम र परिणाम नजिकको स्वास्थ्य संस्था र वडाध्यक्षहरूमार्फत गाउँपालिकामा टिपाउन सकिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराई बताए।