दीपा पौडेल
प्युठान- कोरोना भाइरसको परीक्षणका लागि जिल्लामा बुधवार पहिलो पटक नमुना संकलन गरिएको छ।
बिरामी भएपछि जिल्ला अस्पताल प्युठानमा आएका २ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको हो।
चैत ८ गते भारतबाट आएका ३१ बर्षिय पुरुषलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पताल ल्याइएको बताइएको छ।
धेरै समस्या नभए पनि पटक पटक ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्न लागिएको हो। त्यस्तै उनका १० बर्षिय छोरामा पनि समस्या देखिएपछि उनीहरुको स्वाब परीक्षण गर्न लागिएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थीले जानकारी दिए।
उक्त स्वाबलाई परीक्षणका लागि आवश्यक प्रक्रिया पुर्याएर जतिसक्दो चाँडै बुटवल पठाइने उनको भनाइ छ।
बिरामीलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। स्वाब परीक्षणको नतिजा शुक्रबारसम्म आइपुग्ने अस्पतालका एमडिजिपी डाक्टर सुनिल सुनारले जानकारी दिए।