श्रीकृष्ण बस्नेत
चीनको हुवेई प्रान्तबाट सुरु भएको नाबवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वका २०८ देशमा फैलिसकेको छ। नेपालमा पनि हालसम्म ९ जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १ जना निको भइसकेका छन्।
नेपालमा कोभिड–१९ को संक्रमण स्थानीय रुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको छ। हालसम्म यस नागार्जुन नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुसीको कुरा हो।
विश्वव्यापी महामारीेको रुपमा घोषणा गरिसकेको कोभिड–१९ ले विश्व नै आक्रान्त भई विश्वको सामाजिक, आर्थिक, धार्मिक तथा राजनीतिक क्षेत्रमा व्यापक असर परिरहेको अवस्थामा नेपाल पनि अलग रहन सकेको छैन। यस्तो परिस्थितिलाई थेग्न सक्नेगरी कुनै पनि देश तयारी अवस्थामा नरहेको हुनाले यसबाट मृत्यु हुनेको संख्या अत्याधिक बढिरहेको छ।
भुसको आगो जस्तो फैलिरहेको यस संक्रमणलाई ध्यानमा राखी केही सावधानीका प्रयासहरु भइरहेको थियो तर विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गतेबाट दुई हप्ताको लागि लकडाउन गरिरहेको छ।
आफ्ना जनतालाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्यूनीकरणको मनसायले राज्यद्वारा अबलम्वन गरेको विधिलाई यस नागार्जुन नगरपालिकाले पूर्ण रुपमा नगरबासीलाई पालना गर्न आव्हान गरिसकेको छ। राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागू गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधि तथा उपकरणको उपलब्धता, पिपिई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरबासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने कार्यहरु गरिसकेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको २०७६/१२/०५ मा बसेको बैठकले गरेको सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्दै नगरपालिका भित्रका जनताहरुलाई उच्च सतर्कता अपनाउन समय समयमा अपिल गरिरहेको छ। जनतालाई सेवा सुविधा उपलब्ध गराउन अग्रपत्तिंmमा रहेको यस नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा २०७६/१२/१६ मा प्रदेश सांसद केशव पोखरेल तथा प्रकाश श्रेष्ठ लगायत वडा अध्यक्ष, नगरसभा सदस्य एवं नगरपालिका कर्मचारीहरुको संयुक्त बैठकले नगर उपप्रमुख सुशीला अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दल, स्वास्थ्यकर्मी तथा कर्मचारी संलग्न एक नगरस्तरीय बजार अनुगमन समिति निर्माण गर्यो। त्यस्तै वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरी वडास्तरीय बजार अनुगमन समिति बनाई काम भइरहेको छ।
नगरबासीलाई पर्न सक्ने समस्या, गुनासो तथा आवश्यक जानकारी तथा परामर्श सेवा दिन हटलाइन सम्पर्कको समेत व्यवस्था गरिएको छ। नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन बिहान ६–१० बजेसम्म किराना, तरकारी तथा खाद्यान्न पसल खोली सामाजिक दूरी कायम गरी व्यवस्थित तरिकाबाट बिक्रीवितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेका छन्।
विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भीडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दूरी कायम गर्ने, साबुनपानीले बारम्बार २० सेकेन्डसम्म मिचिमिची हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफू र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत नगरपालिकाले सूचना जारी गरी लागू गरेको छ।
नागार्जुन नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यमा केन्द्रित रही यसै नगरपालिका वडा नं ८ स्थित भीमढुगां स्वास्थ्य चौकीमा ९ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ भने वडा नं १ मा रहेको सहरी विकास विभागबाट निर्मित भवनमा ३० बेडको क्वारेन्टिन वार्ड बनाउन प्रदेश सरकारसँग अनुरोध भई काम आगाडि बढिरहेको छ।
नगरपालिका भित्रका मुख्यमुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन जिवाणुनाशक औषधि छर्कने काम सम्पन भइसकेको छ। वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामकालागि आ–आफ्नो वडामा समन्वयात्मक हिसाबले युद्ध स्तरमा खटिन नगरप्रमुखले विभिन्न बैठकहरुमा निर्देशन दिनुभएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले पनि प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानी पूर्वक नियमित कामहरु गर्न अनुरोध गर्नुभएको छ।
नगरबासीको सुरक्षाको लागि नगरपालिका अत्यन्तै संवेदनशील रहिआएको छ। आवश्यक पर्ने सेवासुविधा, राहत वडा कार्यालयहरुवाट प्रभावकारी रुपमा प्रवाह भइरहेको छ। नगरबासीमा अत्यावश्यक समयमा आवश्यक पर्दा प्रयोग गर्न नगरप्रमुख तथा उपप्रमुखज्यूले प्रयोग गरेका सवारी साधनलाई प्रयोग गर्न सकिने समेत निर्णय गरेर उदाहरणीय काम गरेको छ।
यस नगरपालिकामा गएको एक महिनाभित्र विदेशबाट आउनुभएका ८३ जना व्यक्तिको १ देखि १० वडाबाट तथ्याङ्क संकलन गरी होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ। यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिँदै शंकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए, नभएको यकिन गर्न ल्याब टेस्टको प्रकृया अगाडि बढिरहेको छ।
स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसँग बसी सिर्जनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन सामाजिक सञ्जाल तथा बैठकहरु मार्फत कोरोना विरुद्धको लडाईंमा एक्यबद्ध हुन नगरपालिकाले आग्रह गर्दै आइरहेको छ।
लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिब परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नगर कार्यपालिकाले २०७६/१२/१६ गतेमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आपूर्ति व्यवस्थालाई सहज बनाउन बसेको बैठकको निर्णय बमोजिम वडाअध्यक्षहरुको अध्यक्षतामा सर्वदलीय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, चिउरा लगायतका खाद्यान्न वडा स्तरमा वितरण कामको थालनी भइसकेको छ। नगरपालिकाले कोरोना विरुद्धको लडाईंलाई जित्न कुनै कसर बाँकी नराखी राजनीतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारीपूर्वक कामहरु गर्दै आइरहेको छ।
कोरोना विरुद्धको लडाईंमा थुप्रै उदाहरणीय कार्य गर्दै आउनुभएका नगरप्रमुख बस्नेतले यदि कोही कोभिड–१९ को संक्रमणबाट उपचार गर्नुपर्ने भएमा सम्पूर्ण खर्च नगरपालिकाबाट सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ। साथै सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरु लगायत सुत्केरीलाई नेपाल सरकारले लकडाउन गरेको मितिदेखि लागू हुने समय अवधिसम्म बिरामी भई उपचार गराउनु पर्दा रु ५००० सम्म रकम सहयोग गर्ने हितकारी काम गर्नुभएको छ।
अबका दिनहरुमा पनि यस संक्रमणबाट नागार्जुन नगरबासी कोही पनि हताहत हुन नपरोस् भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा सञ्चालन गर्न नगरपालिका कटिबद्ध रहेको छ। कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानवीय कर्तव्य पूरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाँच गर्न ढिलासुस्ती हेलचेक्र्याँई नगरी सचेत नागरिक बन्नुपर्ने बेला आएको छ। कोभिड–१९ संक्रमणबाट मानव जातिलाई विभिन्न पाठ सिक्ने मौका समेत मिलेको छ।
(बस्नेत नागार्जुन नगरपालिकाका कार्यक्रम संयोजक हुन्)