दीपा पौडेल
प्युठान- कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि जिल्लाबाट पठाइएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य कार्यालय प्युठान मार्फत परीक्षणका लागि पठाइएका जिल्लाका ७ जना र जिल्ला अस्पतालबाट नमूना संकलन गरी पठाएका २ जना गरी ९ जनाकै रिपोर्ट नेगेटिभ आएको हो।
स्वास्थ्य कार्यालय प्युठानका विपद व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले दिएको जानकारी अनुसार भारत तथा अन्य तेस्रो मुलुकबाट प्युठान आएका मध्ये कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि बिरामीहरुलाई परीक्षणका लागि जिल्लाबाट काठमाण्डौं पठाइएको थियो।
स्वास्थ्य कार्यालय मार्फत पठाएका जिल्लाका प्युठान नगरपालिका वडा नं १० का एक जना, वडा नं. २ को २ जना, माण्डवी गाउँपालिका वडा नं. ४ को १ जना, मल्लरानी गाउँपालिका वडा नं. ४ को १ जना, ऐरावति गाउँपालिका वडा नं. २ को १ जना र वडा नं.५ को १ जना गरि ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो।
त्यस्तै, जिल्ला अस्पताल मार्फत स्वाब संकलन गरी पठाएका मल्लरानी गाउँपालिकाका २ जनाको पनि रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थीले जानकारी दिए।
रिपोर्ट नेगेटिभ आएकोले जिल्लाबासीका लागि सकारात्मक कुरा भएको र अझै सचेत भइ लकडाउनमा बस्नुपर्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीको भनाइ छ।
स्वाब संकलन गरी जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका दुबैजनाको स्वास्थ्यमा सुधार आएको भन्दै आज नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।