जगदिश बुढा
जुम्ला- विदेशबाट भित्रिएकाहरुको र्यापिड टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली गाउँमा खटिएको छ। यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको र्यापिड टेस्न गर्न थालिएको हो।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर र्यापिड टेस्ट गर्न थालिएको ल्याब टेक्नेसिएन मौसम गिरीले जानकारी दिए।
उनका अनुसार विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेकोछ। अहिले उनीहरुको स्वाब परिक्षण गर्ने कार्य चलिरहेको छ। पहिलो दिन तातोपानी र तिला गाउँपालिकाका गरेर ५० जनाको र्यापिड टेस्ट गरिएको थियो। सबै जनाको रिर्पोट नेगेटिभ देखिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।
गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेस्ट गर्न थालेपछि स्थानीय खुसी छन्। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने एक महिना अघिसम्म विदेशबाट आएकाहरुको र्यापिड टेस्ट गरिएको थियो। एक जना मलेसिया र ३६ जना भारतबाट आएकाको र्यापिड टेस्ट गरिएको अध्यक्ष न्यौपाने बताउँछन्।
मंङ्गलबार र्यापिड टेस्ट गरेका सबै क्वारेन्टाइनमा बसेका होइनन्। तर विदेशबाट आएका हुन्। सबैको र्यापिड टेस्ट गरेर मनभित्रको खुलदुली मेटाइदिएको गाउँपालिकाले जनाएको छ। यसअघि तातोपानीका ३५ जनाको स्वाब परिक्षण गरेर रिर्पोट नेगेटिभ आइसकेको थियो।
तातोपानीका ६ वटा स्वास्थ्य संस्थामा ६ ÷ ६ का दरले २४ वटा पिपिई सेट उपलब्ध गराइएको छ।
यसैबीच जिल्लाको तिला गाउँपालिकामा पनि विदेशबाट आएकाहरुको र्यापिड टेस्ट गरिएको छ। यहाँका १३ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार ३ जनाको सिता माबि रारालिही र १० जनाको भैरव आधारभुत विद्यालय जोगिवाडामा र्यापिड टेस्ट गरिएको थियो। सो अवसरमा यहाँका पाँच वटा स्वास्थ्य संस्थामा १५ वटा पिपिइ सेट वितरण गरिएको हो। चारवटा स्वास्थ्य संस्थामा १० वटा पिपिइ सेट उपलब्ध गराइएको स्वास्थ्य संयोजक शाही बताउँछन्।
जनस्वास्थ्य कार्यालय जुम्लाका ल्याव प्राविधिक मौसम गिरीले जिल्ला भर विदेशबाट आएकाहरुको र्यापिड टेस्ट हुने बताए। उनका अनुुसार दोस्रो चरणका जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा र्यापिड टेस्ट हुने भएकोले स्वास्थ्यकर्मीको टोली बुधवार नै त्यस तर्फ प्रस्थान गर्नेछ। तेस्रो चरणमा जिल्लाको पातारासी र गुठिचौर गाउँपालिकामा विदेशबाट आएकाहरुको र्यापिड टेस्ट हुनेछ। एक साता भित्रमा यहाँका सबै स्थानीय तहमा र्यापिड टेस्ट गरेर सकिने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।