काठमाडौं - बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफुहरुलाई उद्दार गरिदिन सरकारलाई आग्रह गरेका छन्।
बंगलादेशमा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै उनीहरुले स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका हुन्। उच्च शिक्षा अध्ययनका लागि बंगलादेश पुगेका करीब ६ सय ५० जना विद्यार्थीहरुले उद्दार गरिदिन बंगलादेशस्थित नेपालदुतावासलाई निवेदन समेत लेखेका छन्।
विगत तीन हप्ता भन्दा बढी समयदेखि कलेजको होस्टेलभित्रै त्राशमय वातावरणमा बस्न बाध्य भएको उनीहरुले बताएका छन्। स्वदेश फर्कन नपाउँदा मनोबल घट्दै गएको र मानसिक रुपले कमजोर बनिसकेको विद्यार्थीले जारी गरेको निवेदनमा उल्लेख छ।
हाल उनीहरु सेल्फ क्वारेन्टाइनमै बसिरहेका छन्। तर बंगलादेशको उच्च जनघत्वका कारण सामाजिक दूरी कायम गर्न कठिन भएको उनीहरुले बताएका छन्। यथाशक्य छिटो उद्दार गरी नेपाल फर्कने वातावरण मिलाइदिन उनीहरुले नेपाली राजदुतावासलाई आग्रह गरेको छ।
सरकारले चार्टर प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्यूनतम लागत रकम तिरेर आफ्नै खर्चमा नेपाल फर्कन तयार भएको उनीहरुले बताएका छन्। स्वदेश फर्केपछि राज्यले तोकेको स्थानमा क्वारेन्टाइनमा पनि बस्न तयार भएको उनीहरुको भनाई छ।