दीपा पौडेल
प्युठान- प्युठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्।
कोरोना संक्रमणको विश्वव्यापी सन्त्रासकाबीच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानीय स्तरमा आफैंले बनाएको पिपिईको प्रयोग गरेर सेवा दिइरहेका छन्।
'व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नहुँदा डर लाग्ने हुन्थ्यो तर अहिले पिपिई छन्,' ओपिडिमा रहेका मेडिकल अधिकृत डा क्षितिज नेपालीले भने 'सुरक्षा सामग्रीको प्रयोग गरेर हामीले सेवा दिइरहेका छौं अहिले हामीले आफैंले निर्माण गरेका पिपिई प्रयोग गरेका छौंं, यो हाम्रो धर्म र दायित्व पनि हो, तर गुणस्तरिय पिपिईको अभाव भने छ।'
ओपिडिमा बिरामीहरुको चेकजाँच गरिरहेका डा नेपालीले जिल्लामा आजसम्म प्रभावकारी र गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नभएको गुनासो समेत गरे।
अस्पतालमा कार्यरत नर्सिङ अधिकृत राधा केसीले अन्य समयमा भन्दा बढी प्रसूति सेवाका लागि आउने धेरै भएकाले पिपिईको अभावले गर्दा सेवा दिँदा त्रास महसुस हुने बताइन्।
यस्तो संकटमा राज्यले स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने भन्दै अस्पतालको नर्सिङ इन्चार्ज समेत रहेकी केसीले भनिन्– 'स्थानीय रुपमा सिलाएका सामग्री भन्दा पनि राम्रो गुणस्तरिय पिपिई भएको भए अझ सजिलो हुन्थ्यो।'
लकडाउनको समयमा जिल्ला अस्पताल बिजुवारमा अहिले दैनिकजसो ४०/४५ जना बिरामीहरु आउने गर्छन् भने तीमध्ये २ देखि ४ जनासम्म मात्र रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको अस्पतालका सुचना अधिकृत राजन घिमिरेले जानकारी दिए।
स्रोत र साधनको अभावकोबीचमा सेवा दिने प्रयास गरिरहेको जिल्ल्ला अस्पताल प्यूठानका प्रमुख डा अमृत पन्थी बताउँछन्। डा पन्थीले रुघाखोकी र ज्वरोका बिरामीको उपचारको लागि छुट्टै कक्ष बनाएर सेवा दिइरहेको भन्दै यस्ता बिरामीको चेकजाँच र औषधि समेत निशुल्क उपलब्ध गराईएको जानकारी दिए।
कोेरोना भाइरससंग मिल्ने लक्षण देखिए र आशंका लागेमा उपचारको लागि चार वटा आइसोलेसन बेड तयार गरिएको उनको भनाइ छ ।
दीर्घरोगीहरुका लागि घरबाटै सिधै डाक्टरहरुसंग परामर्श गर्नका लागि जिल्ला अस्पताल प्युठानले १६६०८६४२६४३ नम्बर रहेको टोल फ्रिको व्यवस्था समेत गरेको छ।