काठमाडौं - कोरोनाको जोखिम रोकथाम तथा नियन्त्रणका लागि बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी नेपाल) ले नेपाललाई १२ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपालको प्राविधिक विज्ञता वृद्धि गर्न, नमूना तथा प्रयोगशाला व्यवस्थापनलाई सुदृढिकरण गर्न लगायतको काममा विभागले नेपाललाई सहयोग गरेको हो। नेपालमा प्रयोगशाला सुदृद्धिकरणमा सहयोगका लागि पब्लिक हेल्थ इंल्याण्डबाट एक माइक्रोबायोलिजिस्टलाई विश्व स्वास्थ्य संगठन नेपालमा अल्पकालीन काजमा खटाउन विभागले सहयोग समेत गरेको छ।
डिफिड नेपालकी कार्यालय प्रमुख लिसा होननले नेपालका तात्कालिक तथा दीर्घकालीन आवश्यकतालाई सम्बोधन गर्न सहयोग जारी राख्ने बताइन्।
उनले भनिन्, ‘जोखिममा रहेकालाई संरक्षण गर्ने कुरामा ध्यान केन्द्रित गर्दै, नेपालको तात्कालिक तथा दीर्घकालीन आवश्यकताहरूलाई सम्बोधन गर्न हामी सहयोग जारी राख्नेछौँ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारी फैलन नदिन सतर्कता अपनाइएको भन्दै सहयोगका लागि आभार व्यक्त गरेका छन्।