काठमाडौं - हेल्थ असिस्टेण्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट चन्द्र प्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको छ।
स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्ज गरेको भन्दै हानले दोषि प्रहरीमाथि कारबाहीको माग गरेको हो। कोरोनाको उपचारमा खटिएका खनालले आफ्नो परिचय खुलाउँदा पनि प्रहरीले हातपात गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, 'घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न जो कोहीलाई अविलम्व कानुनी कारबाही गर्न यस हेल्थ असिष्टेण्ट संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरी जोडदार माग गर्दछ।'
हानले स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन, स्वास्थ्य प्राविधिकहरुको आवतजावतलाई सहजीकरण गर्न सरकारसँग माग गरेको हो।
