मुख्य समाचार

अस्पतालको बेडबाट कोरोना संक्रमित नर्स भन्छिन्- पोजेटिभ रिपोर्ट आउँदा छोरालाई सम्झिएँ

समाजले गर्ने व्यवहारले मन दुखाउँदो रहेछ

काठमाडौं- वैशाख ३० गते कपिलवस्तुको एक नर्समा कोरोना भाइरसको संक्रमण भेटियो। नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको यो नै पहिलो घटना थियो। त्यसको भोलिपल्टै नै वीरगञ्जमा एक नर्स पनि कोरोना संक्रमित भइन्। उनी नारायणी अस्पतालको स्टाफ नर्स हुन्। ३६ वर्षीय सुभद्रा चौधरी २०५९ सालदेखि नारायणी अस्पतालमा कार्यरत छिन्।

संक्रमितको उपचारमा दिनरात खटिने उनी अहिले १० दिनदेखि अस्पतालको आइसोलेसन वार्डमा छिन्। उनको घर बाराको कलैयामा हो। तर उनी वीरगञ्जमा बस्छिन्। वैशाख २८ गते पिसिआर प्रविधिबाट परीक्षणका लागि उनको स्वाबको नमुना संकलन गरिएको थियो।

३१ गते रिपोर्ट पोजेटिभ आएपछि उनी जेठ १ गते अस्पतालमा भर्ना भएकी हुन्। उनको स्वीकृतिमा नै हामीले उनको नाम यहाँ उल्लेख गरेका हौं। आफैं कोरोना संक्रमित हुँदाको क्षण, अस्पतालको बसाई, भोगेका समस्या लगायत विषयमा उनले अस्पतालबाटै आफ्ना अनुभव हामीसँग साटेकी छन्ः

०००

कोरोनाको संक्रमण कसरी भयो भन्नेबारे म आफैंलाई थाहा छैन। सबै किसिमको सुरक्षा अपनाएर नै मैले काम गरेकी थिएँ। सायद अप्रत्यक्ष रुपमा संक्रमण भयो कि? अहिलेसम्म म आफैंलाई केही थाहा छैन। 

बिरामीको सेवामा दिनरात खटिन्थेँ। बिरामीको सेवा गर्न रमाइलो लाग्छ। तर अहिले म आफैं अस्पतालको शय्यामा छु। काम गरिरहने मानिसलाई एकै ठाउँमा बस्न निकै समस्या हुने रहेछ। केही गर्न नपाएर मलाई उकुसमुकुस भइरहेको छ। 

मेरो स्वास्थ्य अवस्था सामान्य छ। सुरुबाट नै ममा कुनै लक्षण देखिएको थिएन। अहिले पनि कुनै लक्षण छैन। अब आइतबार दोस्रो पटक पिसिआरबाट कोरोना परीक्षण हुँदैछ। 

कोरोना संक्रमण भएपछि मलाई शारीरिक रुपमा कुनै समस्या भएको छैन। तर मानसिक रुपमा भने मलाई केही असर परेको थियो। किनभने मलाई कोरोना संक्रमण भयो भन्ने बित्तिकै मेरो परिवारलाई हेर्ने समाजको नजर नै परिवर्तन भयो। नजिकका छिमेकीले नकारात्मक रूपमा हेर्न थाले। मेरो परिवारले कुनै पाप नै गरेजस्तो व्यवहार गर्न थालियो। 

वैशाख २८ गते मैले पिसिआरबाट परीक्षण गराएकी थिएँ। ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो। मलाई त्यो बेला डर लागेको थिएन। तर मलाई रिपोर्ट पोजेटिभ आउने बित्तिकै मेरो आँखा अगाडि छोरोको अनुहार झल्कियो। 

मेरो ७ वर्षको छोरो छ। कोरोना सर्छ कि भन्ने डरले नै मैले छोरालाई डेढ महिनादेखि आफन्तकोमा राखेकी थिएँ। तर मैले पिसिआर परीक्षण गराउनुभन्दा एक दिन अघि मात्र छोरालाई घर लिएर आएकी थिएँ। मेरो रिपोर्ट पोजेटिभ आएपछि कतै उसलाई पनि संक्रमण भयो कि भन्ने ठूलो डर लाग्यो। मेरो घर परिवारबाट निकै ठूलो साथ पाएकी छु। तर समाजले गर्ने व्यवहारले भने मन दुखाउने रहेछ। 

हामी दिनरात नभनी संक्रमितको उपचारमा खटिन्छौँ। त्यसैले स्वास्थ्यकर्मीहरूले आफ्नो सुरक्षामा ध्यान दिनुपर्छ। कतिपय ठाउँमा स्वास्थ्यकर्मीले पिपिई नपाएको गुनासो छ।

दोलखाको जिल्ला अस्पतालमा मेरो एक जना नर्स साथी हुनुहुन्छ। उहाँहरु अहिले अस्पतालमा बिरामीको सेवाका लागि खटिरहनु भएको छ। तर अस्पतालमा पिपिई छैन भनेर गुनासो गर्नुहुन्छ। सम्बन्धित निकायमा पिपिई माग्न जाँदा पिपिई छैन भनेर पठाउनु हुन्छ। यस्तो जोखिम मोलेर कसरी काम गर्ने? सरकारले स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षातर्फ पनि ध्यान दिन अति नै जरुरी छ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar
ad
ad
ad
ad

पढ्नै पर्ने