आरबी बुढाथोकी
नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पती हो तितेपाती। जताततै पाइने तितेपातीको औषधीय गुण भने कमैलाई थाहा छ।
तितेपाती सामान्यतया: पूजाआजा या श्राद्द्धमा गरिन्छ। यो वनस्पती पशुलाई सोत्तरको रुपमा पनि बिछ्याइन्छ। कुनैकुनै पशुले मिठो मानेर खाने पनि गर्छ। यो निकै बासनादार पनि हुन्छ।
सहज रुपमा जंगल या खेतबारीमा पाइने यो जडी स्वास्थ्यका लागि निकै उपयोगी सावित भएको छ। गुणका कारण तितेपातीलाई औषधिको राजा नै मानिन्छ। तितेपातीलाई अंग्रेजीमा मगवर्ट या ब्ल्याक सेज भनिन्छ भने यसको साइन्टिफिक नाम अर्टिमिसिय भल्गरिस हो।
हाल आएर कोरोना महामारीमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनले तितेपातीबाट स्यानिटाइजर समेत उत्पादन गरेको छ। तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयको दावी छ र स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार पारिएको हो।
तितेपाती आपार औषधीय गुण भएको प्रमाणित भइसकेको छ। तितेपातीका विभिन्न प्रजाति भए तापनि नेपालमा ६ प्रजातिका उपलब्ध छन्। यो फूल भुल्ने बिरुवामा पर्छ।
लामो अनुसन्धानपछि तितेपातीबाट बनेको औषधिबाट मलेरिया निको पार्न सकिने खोज चीनले पहिलो पटक सन् २०१५ मा पत्ता लगाएपछि यसको महत्व झन् बढदै गएको हो। जसका कारण चीनले नोबेल पुरस्कारसम्म जित्न सफल भयो। विभिन्न खाध्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन अहिले पनि परमपरागत रुपमा गाउँघरका किसानहरु तितेपाती प्रयोग गर्छन्।
यसको उपयोग जडिबुटीका रूपमा र सौन्दर्य प्रसाधन अत्तर (पर्फ्युम) बनाउनका लागि पनि प्रयोग गरिन्छ। साधारणतया जहाँ पनि हुर्कने भएकोले यो वनस्पती खेती गर्न पनि कुनै कठिनाइ छैन।
तितेपातीबाट तेल निकाल्न मिल्ने र यसको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने विज्ञहरुको दावी छ। बाली भित्र्याउनुअघि तितेपातीबाट बनेको औषधि छर्केर भन्डारण गर्नाले कुनै घुन या कुरा नलाग्ने हुनाले किसानका लागि पनि निकै उपयोगी मानिएको छ।
पाक विज्ञानमा पनि तितेपातीलाई एक हर्बको रुपमा र हर्बल टीमा प्रयोग गर्न सकिन्छ। कपालको चाया हटाउनदेखि लुतो लागेमा र चोटपटक लागेमा समेत गाउँघरमा तितेपाती प्रयोग गरेको पाइन्छ। चर्म रोग र सुन्निएको ठाउँमा पनि तितेपाती उपयोगी वनस्पती मानिन्छ। तितेपातीले कसैकसैलाई साइड इफेक्ट र एलर्जी पनि हुनसक्ने हुनाले बुझेर मात्र सेवन गर्नु उत्तम मानिन्छ।
तितेपाती सेवन गर्दा हुने फाइदा
-युरिक एसिड भएकालाई तितेपाती निकै उपयोगी मानिन्छ।
-शरीरमा एलर्जी हुनेका लागि फाइदाजनक।
-कपालमा चाया पर्ने समस्या छ भने पनि तितेपाती कुटेर नुहाउँनाले हराउँछ।
-सेतो तितेपातीलाई पानीमा उमालेर सेक्नाले दुखेको, ठोक्किएको ठाउँमा आराम हुन्छ।
-डिप्रेसन र निन्द्रासम्बन्धी समस्या भएकालाई पनि तितेपाती अति उपयोगी मानिन्छ।
-शरीरमा जुका या चुर्ना परेमा तितेपातीको जराको पाउडर बनाएर बिहान मन तातो पानीमा एक चम्चा खानाले स्वत: हराएर जान्छ ।
-मधेमेहका रोगीका लागि पनि यो उत्तम मानिन्छ। यसको जराको पाउडर एक हप्तासम्म बेलुका सुत्ने बेलामा पानीमा घोलेर खान सकिन्छ।
-चोखो र शुद्ध वनस्पती भएको हुनाले धार्मिक रुपमा पनि यसको महत्व उच्च छ।
-शरीरमा एलर्जी हुने समस्या भएकाहरुका लागि पनि तितेपाती राम्रो मानिएको छ।
-चिलाउने घाउ-खटिरा निस्केकालाई तितेपातीको मुन्टाको ताजा रस लगाउनले धेरै राम्रो महसुस हुन्छ।
-बाथ,पित्त र कफ (त्रिदोष) जस्ता रोगलाई नियन्त्रण गर्न निकै उपयोगी सावित हुन्छ।
-तितेपाती काटेर आलु वा अन्य अन्नलाई छोपेर भन्डारण गर्नाले किरा लाग्दैन।
-तितेपातीलाई हल्का सुकाएर पकाई खोटो बनाएर दिनहुँ एकएक चम्चा खानाले सम्पूर्ण रोगलाई नियन्त्रण गर्ने काम गर्छ।
-महिनावारी गडबड भएका महिलाका लागि पनि तितेपाती उत्तम जडी हो। तर गर्भवतीका लागि भने यो राम्रो मानिँदैन।
-यसको जुस ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउँछ।
तितेपातीको तेल पनि
तितेपातीको तेल पनि निकाल्न सकिन्छ र यो मानव शरीरको मस्तिष्कका लागि अति नै राम्रो मानिन्छ। कसैलाई नर्भस हुने समस्या छ भने तितेपातीको तेल र रोजमेरीको तेल मिसाएर प्रयोग गर्नाले समस्या विस्तारै हट्दै जान्छ। तितेपतीको तेल नेपालमा पनि उत्पादन गर्न सुरु गरिएको छ। रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ठूलोगाउँमा गत वर्षबाट उत्पादन गर्न सुरु गरिएको तितेपातीको तेल अहिले सानो स्केलमा भए तापनि पछि बढ्दै जाने सञ्चालकहरुको दावी छ।
पेट सम्बन्धी समस्या हुनेले तितेपातीको तेल र क्यारिएर आयल अर्थात् वनस्पती तेल मिसाएर मसाज गर्नाले निकै आराम हुन्छ। खाना अपच हुने समस्या भएकाहरुका लागि पनि यो तेल उत्तम छ।
पकवान क्षेत्रमा पनि तितेपाती
तितेपातीलाई उत्तरी युरोपतिर एक कमन हर्बको रुपमा खाना पनि प्रयोग गरिन्छ। विभिन्न सुप,स्टु,सलादहरुमा तितेपातीको फूल,पात या डाँठसम्म एक सुगन्धित जडीको रुपमा प्राचीन समयदेखि प्रयोगमा ल्याइएको छ। मासुका आइटममा र हर्बल टीको रुपमा पनि मिसाएर प्रयोग गरिन्छ। तितेपातीको प्रयोगले शरीरमा पाचनशक्ति मजबुत हुने र निकै बासनादार हुने हुँदा खानामा यसको प्रयोग बढ्दै गएको हो।
फ्याटी एसिड कम र भिटामिन सी पर्याप्त हुने हुँदा स्वास्थ्यका लागि पनि निकै राम्रो मानिन्छ तितेपातीको प्रयोग। तितेपाती प्रयोग गरेर लस्सी (स्मुथी) जेल्ली र पनि बनाइन्छ। युरोपियनहरुले मसरुम सुपमा पनि तितेपाती मिसाएर बनाउँदा निकै चाख दिएर पिउँछन्। जिनमा मह, बुलेस फ्रुट, तितेपातीको फूल मिसाएर खाँदा पनि निकै उत्तम मानिएको छ।
कोरियनहरुले पनि तितेपातीलाई राइस प्यान केक, स्टिम बन, स्पिरिङ्ग इस्न्याक्स, डाइसुकु, दुनोट, डिमसम जस्ता खानामा परमपरादेखि नै प्रयोगमा ल्याएको पाइन्छ। बिटर फ्लेभरिङ्ग एजेन्टको रुपमा मासु या माछाको परिकारमा तितेपाती प्रयोग गरिन्छ। वियर तथा अन्य ड्रिङ्समा पनि बिटर (तितो) सुगन्ध र प्युरिटीको लागि व्यापक प्रयोग गरेको पाइन्छ। तसर्थ तितेपाती पशुलाई खाना र सोत्तर मात्र होइन, मानव जीवनमा पनि पर्याप्त फाइदा पुर्याउने एक अमूल्य जडीको रुपमा लिनु आजको आवश्यकता भएको छ।
तितेपातीको स्यानिटाइजर
कोभिड-१९ लाई लक्षित गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गर्न थालिएको छ। विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विज्ञहरुको भनाइ छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको तितेपातीको स्यानिटाइजर विश्वमा पहिलो मानिएको छ। कोरोना भाइरसको महामारीलाई कम गर्ने उद्देश्यका साथ तयार पारिएको यो स्यानिटाइजर निकै लोकप्रिय र प्रभावकारी सावित भएको छ। अन्य स्यनिटाइजरमा अत्यधिक अल्कोहल प्रयोगका कारण मान्छेको छाला जाने हुँदा तितेपाती मिसिएको स्यनिटाइजर प्रभावकारी हुनसक्ने सबैको ठम्याइ छ। यसरी नेपालमै उत्पादन भएको तितेपातीको स्यानिटाइजर किसान तथा खुद्रा व्यापारीलाई नि:शुल्क वितरण गरिएको छ।