काठमाडौं- संघीय निजामती सेवा विधेयकको मस्यौदामा निजामती कर्मचारीहरूका लागि अनिवार्य स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको बीमा कार्यक्रममा समावेश हुने प्रस्ताव गरिएको छ। सरकारले सार्वजनिक गरेको नयाँ विधेयकको मस्यौदामा निजामती कर्मचारी र उनीहरूका परिवारलाई योगदानमा आधारित स्वास्थ्य बीमा योजनामा समेट्ने व्यवस्था प्रस्ताव गरिएको हो।
यो व्यवस्था ऐनका रूपमा लागू भएपछि देशभरका लाखौँ निजामती कर्मचारीहरू अनिवार्य रूपमा स्वास्थ्य बीमा बोर्डको कार्यक्रममा आबद्ध हुने बाटो खुल्नेछ। हाल धेरैजसो निजामती कर्मचारीहरू स्वास्थ्य बीमाको दायरा बाहिर रहेको अवस्थामा यो कानुनी प्रावधानले कर्मचारी र उनीहरूका आश्रित परिवारको उपचार प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउने विश्वास लिइएको छ।
विधेयकमा उल्लेख भएअनुसार, प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरी कर्मचारीहरूको स्वास्थ्य उपचारका लागि योगदानमा आधारित योजना कार्यान्वयनमा ल्याइनेछ। यसले कर्मचारीको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुका साथै स्वास्थ्य बीमा बोर्डको दिगोपनमा समेत सहयोग पुग्ने देखिन्छ।
विगतमा विधेयकमा बीमा बोर्डमा नभई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्थाको प्रस्ताव गरिएको थियो। तत्कालिन समयमा त्यसको विरोध भएपछि त्यतिबेलाको विधेयकमा पनि बीमा बोर्ड संशोधन गरिएको थियो।
विधेयकमा रहेको व्यवस्था जस्ताको तस्तै:
स्वास्थ्य बीमा योजना लागू गर्ने: नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्नेछ।