काठमाडौँ- अमेरिकन साेसाइटी अफ क्लिनिकल अन्काेलाेजी(एस्काे)द्वारा सञ्चालन हुने प्रतिष्ठित ‘नेतृत्व विकास कार्यक्रम’ (एलडिपी) २०२६-२०२७का लागि नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही छनोट भएका छन्।
यो कार्यक्रम विश्वभरका उदयीमान अन्कोलोजिस्टहरूलाई नेतृत्व विकास, नीतिगत सोच र क्यान्सर उपचार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिन्छ।
डा. शाही हाल पाटन एकेडेमी अफ हेल्थ साइन्सेजमा आवद्ध छन्। उनको छनोटले नेपाली स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व अझ मजबुत बनाएको अस्काेद्वारा जारी सूचनामा उल्लेख छ।
`यो एक वर्षे कार्यक्रम अन्तर्गत सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, अन्तरक्रियात्मक सिकाइ र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गरिन्छ` त्यहाँ भनिएको छ, ` साथै, कार्यक्रमले सहभागीहरूलाई एएससीओको रणनीति, नीतिगत दिशा र विश्वव्यापी क्यान्सर उपचारमा यसको प्रभावबारे गहिरो समझ विकास गर्न सहयोग पुर्याउँछ।´
क्यान्सर राेग विशेषज्ञले एस्काे नेतृत्व विकास कार्यक्रममा छनोट हुनु ठूलो सम्मान र महत्वपूर्ण उपलब्धि ठान्छन्। उक्त कार्यक्रमका लागि यसपल्ट अमेरिका बाहिरबाट डा शाहीले मात्रै प्राप्त गरेका हुन्।
एस्काेले डा. शाहीलाई भविष्यमा नेतृत्व गर्न सक्ने र स्वास्थ्य क्षेत्रमा प्रभाव पार्न सक्ने चिकित्सकको रूपमा पहिचान गरेको जनाएको छ।
डा शाहीले भने यसलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपालका अन्कोलोजिस्टहरूको क्षमता, मेहनत र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।
`कार्यक्रममा विश्वभरिका उत्कृष्ट क्यान्सर विशेषज्ञहरूसँग सिक्ने, सहकार्य गर्ने र पेशागत सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त हुन्छ,´ उनले भने।
यो कार्यक्रमले नेतृत्व, नीतिनिर्माण र जनचेतना अभिवृद्धि जस्ता क्षेत्रमा काम गर्ने क्षमता विकास गराउने उनको विश्वास छ।
याे अवसर मात्र नभइ सिकेका ज्ञान र अनुभव नेपालमा ल्याई अन्य चिकित्सकलाई मार्गदर्शन गर्ने, नयाँ पुस्तालाई प्रेरित गर्ने र स्वास्थ्य प्रणाली सुदृढ बनाउन योगदान दिने जिम्मेवारी पनि रहेकाे एस्काेकाे भनाइ छ।