काठमाडौं- वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले त्यहाँ कार्यरत आवासीय चिकित्सकहरूका विभिन्न माग र गुनासाहरू सम्बोधन गरेको जानकारी गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको स्थलगत अनुगमन र निर्देशनपछि कलेज प्रशासनले चिकित्सकहरूले उठाउँदै आएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
कलेजले मन्त्रालयलाई पत्र लेख्दै अबदेखि आवासीय चिकित्सकहरूका लागि छात्रावास (होस्टल) अनिवार्य नगरेर ऐच्छिक बनाएको छ भने रजिष्ट्रेसनका लागि त्रिभुवन विश्वविद्यालयको नियमानुसार माइग्रेसन प्रमाणपत्र मात्र लिने र अन्य सक्कल शैक्षिक प्रमाणपत्रहरू कलेजमा राख्न नपर्ने व्यवस्था गरेको छ।
यसैगरी, हाजिरीको विषयमा रहेको विवाद समाधान गर्दै कलेजले ड्युटीमा आउँदा र जाँदा गरी दिनको दुई पटक मात्र हाजिरी गर्ने र बिदाको दिनमा हाजिरी गर्नु नपर्ने नियम लागू गरेको छ। कुनै विशेष प्रयोजनका लागि फिल्डमा खटिएका चिकित्सकहरूलाई सो अवधिको तलब नियमानुसार भुक्तानी गरिने समेत कलेजले स्पष्ट पारेको छ।
विद्यार्थी र प्रशासनबीच सुमधुर सम्बन्ध कायम राख्न यी सुधारात्मक कदम चालिएको कलेजले जनाएको छ।
कलेजले आवासीय चिकित्सकहरूमाथि कडा र अमर्यादित नियमहरू लादेको भन्दै नेपाल चिकित्सक संघले पनि कडा आपत्ति जनाएको थियो। संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा कलेज प्रशासनले गरिरहेको व्यवहार पेशागत मर्यादा विपरीत भएको भन्दै तत्कालै सम्बोधन गर्न दबाब दिइएको थियो।
हेरौं नेशनलले मन्त्रालयमा पठाएको पत्रको विवरण
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
गुणस्तर मापन तथा नियमन महाशाखा,
रामशाहपथ, काठमाडौँ।
विषय: पुनः जानकारी पठाईएको सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा त्यस मन्त्रालयको च.नं. ५०६ मिति २०८३/०१/०९ को पत्र अनुसार आवासीय चिकित्सकहरुको गुनासो कार्यान्वयन भए/नभएको निरीक्षण गर्न स्थलगत अनुगमनमा आउनुभएका मन्त्रालय स्तरिय अनुगमन टोली समक्ष सो गुनासो कार्यान्वयन सम्बन्धमा तपसिल बमोजिम व्यवस्था गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ।
तपसिल:
१. आवासीय चिकित्सकको छात्रावास (होस्टल) सम्बन्धमा ऐच्छिक गरिएको छ।
२. आवासीय चिकित्सकको सक्कल शैक्षिक प्रमाण–पत्र सम्बन्धमा रजिष्ट्रेशन प्रयोजनका लागी त्रिभुवन विश्व विद्यालयको नियमानुसार माईग्रेशन प्रमाण–पत्र मात्र लिने।
३. आवासीय चिकित्सकको हाजिरी सम्बन्धमा ड्युटीमा आउने र जाने बेलामा (२ पटक) हाजिरी गर्ने र विदाको दिन हाजिरी गर्नु नपर्ने व्यवस्था मिलाईएको छ।
४. आवासीय चिकित्सकलाई फिल्ड प्रयोजन अन्य निकायमा पठाउँदाको समयको तलव नियमानुसार भुक्तान गरिने व्यवस्था गरिएको छ।
अन्तमा विद्यार्थी र कलेज प्रशासन बिच सुमधुर सम्बन्ध सधैं कायम रहनको लागी कलेज प्रशासन र विद्यार्थी दुबै पक्ष हर–हमेशा प्रयत्नशील रहने व्यहोरा अनुरोध छ।
प्रशासन प्रमुख